पछिल्लो समय विश्व राजनीति तीव्र अस्थिरता र अनिश्चितताको चरणबाट गुज्रिरहेको छ। शक्तिशाली राष्ट्रहरूले कमजोर देशमाथि गर्ने सैन्य, राजनीतिक र आर्थिक हस्तक्षेपले अन्तर्राष्ट्रिय व्यवस्था नै चुनौतीमा परेको छ। लोकतन्त्र, मानवअधिकार र स्वतन्त्रताको नाममा अघि सारिने यस्ता हस्तक्षेपहरू व्यवहारमा भने स्वार्थकेन्द्रित निर्णय र तानाशाही प्रवृत्तिको रूपमा प्रकट भइरहेका छन्।
विश्वका ठूला शक्तिहरूले लिने निर्णय प्रक्रिया प्रायः एकपक्षीय बन्दै गएको देखिन्छ। संयुक्त राष्ट्रसंघजस्ता बहुपक्षीय संयन्त्रको भूमिका कमजोर पारिँदै छ भने अन्तर्राष्ट्रिय कानुनलाई समेत बेवास्ता गर्ने अभ्यास बढ्दो छ। अमेरिकाले भेनेजुयलाप्रति अपनाएको नीति यसको स्पष्ट उदाहरण हो। आन्तरिक राजनीतिक संकट समाधानको बहानामा गरिएको हस्तक्षेप र आर्थिक प्रतिबन्धले त्यहाँको अर्थतन्त्रलाई गहिरो संकटमा धकेलेको छ। यसको प्रत्यक्ष असर आम नागरिकको जीवनमा परेको छ—खाद्यान्न, औषधि र रोजगारीको अभावले जनजीवन कष्टकर बनेको छ।
यसअघि रुस–युक्रेन युद्धले पनि विश्वलाई गम्भीर सन्देश दिएको छ। यो युद्ध केवल दुई देशबीचको द्वन्द्वमा सीमित रहेनस ऊर्जा संकट, खाद्यान्न अभाव र आर्थिक मन्दीका रूपमा यसको असर विश्वभर फैलियो। ठूला शक्तिहरूको प्रतिस्पर्धाले साना र कमजोर राष्ट्रहरू कसरी सजिलै संकटमा तानिन सक्छन् भन्ने यथार्थ यसले उजागर गर्यो। मध्यपूर्व, अफ्रिका र अन्य क्षेत्रमा पछिल्लो समय देखिएका अराजक गतिविधिहरू पनि यही शक्ति–राजनीतिको परिणामका रूपमा बुझ्न सकिन्छ।
यही विश्व परिवेशबीच नेपाल आन्तरिक रूपमा पनि संवेदनशील मोडमा उभिएको छ। जेनजी आन्दोलनपछि देश विभिन्न धार र भागमा विभाजित भएको अनुभूति व्यापक छ। असन्तोष, अविश्वास र ध्रुवीकरणले सामाजिक सद्भाव कमजोर बनाएको छ। यस्तो अवस्थामा आन्तरिक अशान्तिले राष्ट्रिय शक्ति क्षीण बनाउँछ र बाह्य हस्तक्षेपका लागि ढोका खोल्न सक्छ। नेपालको कमजोरी देखेर अन्य शक्ति राष्ट्रहरूले हस्तक्षेप गर्ने जोखिमलाई नजरअन्दाज गर्न मिल्दैन।
अब आवश्यकता छ—सबै नेपाली एक ठाउँमा उभिने। राजनीतिज्ञ, नागरिक समाज, बुद्धिजीवी, सञ्चार क्षेत्र र सुरक्षाका तीनै तहका निकायबीच विश्वास र सहकार्यको वातावरण निर्माण गर्नुपर्छ। आरोप–प्रत्यारोप र दोषारोपणको राजनीति छाडेर संवाद, सहमति र सहकार्यलाई प्राथमिकता दिनुपर्ने समय आएको छ। अशान्तिलाई शान्तिमा रूपान्तरण गर्ने जिम्मेवारी कुनै एक पक्षको मात्र होइन, सम्पूर्ण राष्ट्रिय शक्तिको साझा दायित्व हो।
नेपालले राणाकालीन समयदेखि आजको जेनजी आन्दोलनसम्म आइपुग्दा अनेकौं उतारचढाव भोगेको छ। ती सबै कालखण्डबाट प्राप्त ज्ञान, अनुभव र सिकाइलाई आजको चुनौती सामना गर्न उपयोग गर्नुपर्छ। विभाजन होइन, एकतास द्वन्द्व होइन, संवादस र अस्थिरता होइन, शान्ति—यिनै आधारमा राष्ट्र अघि बढ्नुपर्छ।
पश्चिमी तानाशाही प्रवृत्तिविरुद्ध एक हुनु भनेको कुनै देश वा सभ्यताप्रति अन्धविरोध गर्नु होइन। यसको अर्थ हो—समानता, न्याय, सार्वभौमिकता र पारस्परिक सम्मानको पक्षमा दृढ अडान लिनु। नेपालले आफ्नै बल, एकता र विवेकका आधारमा विश्व मञ्चमा आत्मसम्मानसहित उभिन सक्नुपर्छ।
अन्ततः, राष्ट्रिय एकता नै नेपालको सबैभन्दा ठूलो शक्ति हो। आन्तरिक अशान्ति र विभाजनलाई चिर्दै सहकार्य र समझदारीको बाटो रोज्न सके मात्र नेपाल बाह्य दबाब र हस्तक्षेपबाट सुरक्षित रहन सक्छ। आजको आवश्यकता यही हो—सबै नेपाली हातेमालो गर्दै शान्ति, स्थिरता र राष्ट्रिय हितको पक्षमा एक भएर अघि बढ्नु।




