राजनीति

राष्ट्रियसभामा सहकार्य, प्रतिनिधिसभामा कांग्रेस एक्लै चुनावमा जाने संकेत

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीले अन्य दलसँग सहकार्य गर्ने स्पष्ट पारेका छन्। सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रियसभा निर्वाचनको संरचना र गणितलाई ध्यानमा राख्दै कांग्रेस एक्लै प्रतिस्पर्धा गरेर अपेक्षित नतिजा निकाल्न नसक्ने बताए।

उनका अनुसार राष्ट्रियसभाका लागि हुने सहकार्यलाई औपचारिक गठबन्धनका रूपमा व्याख्या गर्न नहुने उल्लेख गर्दै यसलाई केवल चुनावी तालमेलका रूपमा बुझ्नुपर्ने धारणा राखे। तर प्रतिनिधिसभा निर्वाचनमा भने नेपाली कांग्रेस आफ्नै नीति, सिद्धान्त र एजेन्डासहित एक्लै जनतामाझ जाने उनले बताए।

“राष्ट्रियसभा निर्वाचनमा कांग्रेसले एक्लै लडेर परिणाम ल्याउन सक्दैन, त्यसैले चुनावी तालमेल आवश्यक हुन्छ। यसलाई गठबन्धन भनिँदैन,” सिटौलाले भने, “तर प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेस एक्लै जाने महासमितिको निर्णय भइसकेको छ।”

उनले आगामी निर्वाचनमा पार्टीभित्र एकता कायम गर्न सके सकारात्मक नतिजा हासिल गर्न सकिने विश्वास व्यक्त गरे। साथै निर्वाचनपछि १५औँ महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक भइसकेकाले अब त्यसको तयारीमा केन्द्रित हुनुपर्ने आवश्यकता रहेको उनले जोड दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *