काठमाडौं । सरकारले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन तोकिएकै समयमा सम्पन्न गराउने अडान दोहोर्याइरहँदा निर्वाचनको विरोधमा रहेका विभिन्न समूहहरू आपसी सहकार्यतर्फ उन्मुख भएका छन्। राजसंस्था पुनःस्थापनाको पक्षमा अभिव्यक्ति दिँदै आएका र चुनाव हुन नदिनुपर्ने धारणा राख्ने पात्रहरू पछिल्लो समय एउटै प्लेटफर्ममा देखिन थालेका हुन्।
राष्ट्र, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियानको नाममा सक्रिय रहँदै आएका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं, राप्रपा नेता ज्ञानेन्द्र शाही, सामाजिक सञ्जाल तथा युट्युबमार्फत चर्चामा आएका निकोलस भुसाल र धर्मगुरु पुष्कर खतिवडासहितका समूहहरू संयुक्त गतिविधिको तयारीमा रहेको बुझिएको छ। उनीहरूले आगामी पुस २७ गते राष्ट्रिय एकता दिवस संयुक्त रूपमा मनाउँदै संविधान खारेजीको अभियान अघि बढाउने तयारी गरिरहेको स्रोतले जनाएको छ।
यस समूहसँग राजसंस्थाको आवश्यकता रहेको भन्दै सार्वजनिक अभिव्यक्ति दिँदै आएका कलाकार सन्तोष पन्त र राजाराम पौडेल पनि सम्पर्कमा रहेको बताइन्छ। त्यस्तै, आफूलाई ‘जेनजी’ अभियानका अगुवा बताउने मिराज ढुंगानाको समूहसँग समेत छलफल भइरहेको जानकारी प्राप्त भएको छ।
विभिन्न स्वरूपमा निर्वाचनप्रति असहमति जनाउँदै आएका समूहहरू एकै ठाउँमा उभिन थालेपछि आगामी निर्वाचन प्रक्रिया र सरकारका लागि थप राजनीतिक चुनौती सिर्जना हुने संकेत देखिएको छ।




