काठमाडौं । नेपाली कांग्रेसका नेता तथा राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा निर्वाचनका विषयमा कांग्रेसले अन्य राजनीतिक दलहरूसँग छलफल गरिरहेको बताएका छन्। उनले आज आयोजित पत्रकार सम्मेलनमा पार्टीको कार्यसम्पादन समिति बैठकले गठबन्धनबारे टुंगो लगाउने जानकारी दिए।
सिटौलाले भने, ‘कुन–कुन पार्टीसँग गठबन्धन गर्ने, क्लस्टर कसरी मिलाउने भन्ने विषयमा आज निर्णय हुन्छ। आजको कार्यसम्पादन समिति बैठकमा यसबारे छलफल हुन्छ। एक्लै चुनाव लड्दा अपेक्षित परिणाम नआउने भएकाले राष्ट्रियसभामा गठबन्धन गर्ने कुरा अघि बढाइएको हो।’
उनले राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलहरूसँग सहकार्य गर्नु उपयुक्त हुने उल्लेख गर्दै सबै दलबीच तालमेल हुनु सकारात्मक हुने धारणा राखे।
यद्यपि प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा भने पार्टीको बटमलाइन एक्लै चुनाव लड्ने रहेको सिटौलाको भनाइ छ। ‘आम निर्वाचन प्रत्यक्ष रूपमा जनतासँग जाने प्रक्रिया हो। त्यसैले आफ्नै विचार र कार्यक्रम लिएर एक्लै चुनाव लड्नुपर्छ,’ उनले भने।
कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि एमाले, नेकपासँगै मधेशी मोर्चासँग पनि तालमेलबारे छलफल गरिरहेको उनले जानकारी दिए।




