काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा सैन्य कारबाही गरी राष्ट्रपति निकोलस मादुरोलाई ‘पक्राउ’ गरिएको दाबी गरेसँगै विश्व राजनीति गम्भीर मोडमा पुगेको छ। शीतयुद्धपछिको अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा यस घटनालाई सबैभन्दा जोखिमपूर्ण घटनाक्रमका रूपमा हेरिन थालेको छ। अमेरिकी कदमले विश्वलाई स्पष्ट रूपमा दुई ध्रुवमा विभाजित गरेको देखिन्छ— एकातिर अमेरिका र उसका केही सहयोगी, अर्कोतिर रुस, चीन र अधिकांश ल्याटिन अमेरिकी राष्ट्रहरू।
अमेरिकाको यो सैन्य हस्तक्षेपलाई धेरै मुलुकले सार्वभौमसत्तामाथिको खुला आक्रमण र अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन भनेका छन्। विशेषगरी रुस र चीनजस्ता विश्व शक्तिहरूको तीव्र प्रतिक्रिया आउनुले यो केवल क्षेत्रीय संकट नभएर विश्वव्यापी शक्ति संघर्षको संकेत भएको विश्लेषकहरू बताउँछन्। रुसले अमेरिकी कदमलाई ‘डकैतीसरह’ को कार्य भन्दै कठोर शब्दमा निन्दा गरेको छ। राष्ट्रपति मादुरो र उनकी पत्नीलाई जबरजस्ती देशबाहिर लगिएको पुष्टि भएमा त्यसले अन्तर्राष्ट्रिय कानुनलाई अर्थहीन बनाउने रुसी चेतावनीले ठूलो सन्देश दिएको छ— मस्को अब यस प्रकारका अमेरिकी हस्तक्षेपलाई मौन समर्थन गर्ने अवस्थामा छैन।
चीनको प्रतिक्रिया पनि त्यत्तिकै कडा छ। उसले अमेरिकालाई दवदबाको राजनीति त्याग्न र संयुक्त राष्ट्र संघको चार्टरको सम्मान गर्न आग्रह गरेको छ। चीनका लागि यो विषय केवल भेनेजुएलाको नभई विश्वव्यवस्थाको नेतृत्व कसले गर्छ भन्ने प्रश्नसँग जोडिएको देखिन्छ। ल्याटिन अमेरिकामा भने यो घटनाले पुराना घाउहरू कोट्याएको छ। ब्राजिल, क्युबा, चिली र मेक्सिकोले अमेरिकी कदमलाई विगतको हस्तक्षेपकारी नीतिको पुनरावृत्ति मानेका छन्। विशेषगरी ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाले यसलाई ‘खतरनाक नजिर’ भन्दै चेतावनी दिनुले क्षेत्रीय असन्तोष कति गहिरो छ भन्ने देखाउँछ।
संयुक्त राष्ट्र संघले पनि यस घटनालाई गम्भीर रूपमा लिएको छ। महासचिव एन्टोनियो गुटेरेसको चिन्ताले बहुपक्षीय संस्थाहरू कमजोर बन्दै गएको यथार्थ उजागर गरेको छ। सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाइनुले कूटनीतिक समाधानको प्रयास भए पनि शक्ति राष्ट्रहरूको टकरावका कारण निष्कर्ष निस्कन कठिन हुने संकेत देखिन्छ।
तर सबै मुलुकहरू अमेरिकाको विपक्षमा छैनन्। अर्जेन्टिनाका राष्ट्रपति जेभियर माइलीले ट्रम्पको कदमलाई समर्थन गर्नुले विश्व राजनीति केवल सिद्धान्तमा होइन, आ–आफ्नो वैचारिक झुकावमा आधारित हुँदै गएको देखाउँछ। बेलायत भने सावधानीपूर्वक पन्छिँदै ‘पर्ख र हेर’ को रणनीतिमा देखिएको छ। घटनापछि भेनेजुएलामा सैनिक गतिविधि तीव्र भएको छ। सीमावर्ती मुलुक कोलम्बियाले सम्भावित शरणार्थी संकटको आँकलन गर्दै सीमामा सेना तैनाथ गर्नुले क्षेत्रीय अस्थिरता अझ बढ्न सक्ने खतरा देखाउँछ।
अब उठेको मुख्य प्रश्न स्पष्ट छ— के यो घटनाले अर्को विश्वयुद्धको ढोका खोल्दैछरु यद्यपि तत्काल विश्वयुद्धको सम्भावना कम देखिए पनि शक्ति राष्ट्रहरूबीचको बढ्दो अविश्वास, सैन्य प्रदर्शन र अन्तर्राष्ट्रिय कानुनको अवहेलनाले विश्वलाई अत्यन्त जोखिमपूर्ण दिशातर्फ धकेलिरहेको छ। ट्रम्पको आक्रामक र एकपक्षीय रबैयाले विश्व राजनीतिमा ‘बल प्रयोग नै समाधान’ भन्ने सोचलाई पुनर्जीवित गरेको छ। यदि यही प्रवृत्ति जारी रह्यो भने साना देशहरू मात्र होइन, सम्पूर्ण विश्व अस्थिरताको दलदलमा फस्ने खतरा बढ्दै जानेछ। अहिलेको संकट विश्वयुद्धको सुरुवात हो कि चेतावनीको घण्टी— त्यो उत्तर अब विश्व नेताहरूको विवेक र कूटनीतिले दिनेछ।




