काठमाडौं । रवि लामिछाने जेलबाट बाहिरिएलगत्तै बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकले पार्टीभित्र देखिएको आन्तरिक द्वन्द्वलाई अझ सतहमा ल्याएको छ। संगठन विस्तार, समानुपातिक बन्दसूची र नेतृत्व संरचनासम्बन्धी निर्णयलाई लिएर रास्वपा अहिले तीव्र आलोचना र असन्तोषको घेरामा परेको छ।
काठमाडौं महानगरपालिका–१६, बनस्थली चमतिमा रहेको पार्टी केन्द्रीय कार्यालयमा सभापति लामिछानेको अध्यक्षतामा बैठक जारी रहँदा उपसभापति डा। स्वर्णीम वाग्ले, प्रवक्ता मनिष झा, महामन्त्री कविन्द्र बुर्लाकोटी, सहमहामन्त्री दीपक बोहोरा तथा अधिकांश केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको स्रोतले जनाएको छ । बैठकमा पछिल्लो पार्टी समायोजन, संगठन विस्तार र समानुपातिक सूचीका विषयमा छलफल केन्द्रित रहेको बताइएको छ।
तर, निर्वाचन आयोगमा समानुपातिक बन्दसूची बुझाउनुअघि पार्टीमा समाहित भएका काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) र उज्यालो नेपालका कुलमान घिसिङ बैठकमा सहभागी नहुनुले आन्तरिक समीकरणबारे थप प्रश्न उठाएको छ।
समानुपातिक सूचीले बढायो असन्तोष
रास्वपाको समानुपातिक सूची सार्वजनिक भएपछि पार्टीभित्र व्यापक असन्तोष देखिएको छ। यसैक्रममा समानुपातिक उम्मेदवारमा परेका आसिफ शाहले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। उनले बालेन–रवि–कुलमानबीच सहकार्य सम्भव होस् भन्ने जनभावनालाई सम्मान गर्दै समानुपातिकमार्फत सांसद बन्ने बाटो त्यागेको बताएका छन्। शाहले काठमाडौं–५ बाट प्रत्यक्ष निर्वाचन लड्ने घोषणा गरेका छन।
यसअघि डा। त्रिशला गुरुङले पनि आलोचनापछि समानुपातिक उम्मेदवारी फिर्ता लिइसकेकी थिइन्। लगातार उम्मेदवार फिर्ता हुनुले पार्टीको निर्णय प्रक्रियामाथि प्रश्न उठेको छ। हुन्। रास्वपाबाट पाँच जनाले समानुपातिक उम्मेदवारी फिर्ता गर्ने घोषणा गरिसकेका छन् । सो पार्टीबाट डा.महेन्द्र लावती, त्रिशला गुरुङ, सचिन ढकाल, आशिफ शाह र टासी ल्हाक्पा शेर्पाले समानुपातिक उम्मेदवारी फिर्ता गर्ने घोषणा गरेका हुन् । शनिबार युवा उद्यमी ढकालले उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन् । त्यसअघि लावती, गुरुङ, शाह र शेर्पाले उम्मेदवारी फिर्ता लिने घोषणा थिए ।
अभिनेता तथा टेलिभिजन कार्यक्रम होस्ट शाह रास्वपाको समानुपातिक सूचीमा मुस्लिम पुरुष क्लस्टरबाट एक नम्बरमा थिए । उनी रास्वपाका पूर्वसांसद असिम शाहका दाइ हुन् । त्यस्तै गुरुङ गायिका तथा चिकित्सक हुन् भने शेर्पा पर्वतारोही हुन् । शेर्पा फोर्टिन पिक्स एक्सपिडिसनका सीईओसमेत हुनु । उनी हालै रास्वपामा प्रवेश गरेका टासी मिङ्मा शेर्पाका भाइ हुन् । त्रिशलाले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै समानुपातिक उम्मेदवारको बन्द सूचीबाट पछि हट्ने जानकारी दिएकी थिइन् । रास्वपा सभापति लामिछानेले रास्वपाभिभत्र देखिएको विवाद समाधान गर्न समानुपातिक उम्मेदवारहरुको सुची सच्याउने बताएका थिए । सोही अनुसार रास्वाप सभापति पार्टी एकताका विषयमा उठेका प्रश्नहरु समाधान गर्ने लाइनमा रहेको बुझिएको छ । तर रास्वपा,बालेन र कुलमान स्वतन्त्र रुपमा अघि बढ्न पाउनुपर्ने पक्षमा छन् । जेनजी आन्दोलन तथा हामी नेपालका संयोजक सुदन गुरुङले रवि र उज्यालो नेपाल पार्टीका संयोजक कुलमान घिसिङलाई अपहरणशैलीमा बैठक बसिरहेको समयमा रास्वा सभापति लामिछानेसँग भेट गराएर दबाबमा सम्झौता गर्न बाध्य पारिएको थियो । यी तीनै शक्ति आ–आफ्नै शक्तिमा अघि बढ्न पाउनुपर्ने लाइनमा देखिन्छ ।
गुरुङले बालेन,कुलमान र रविलाई सबै एक हुन नसके विभिन्न मुद्धा अघि बढाउने भन्दै सम्झौता गर्न बाध्य पारिएको समाचारहरु समेत सामाजिक संजाल फेसबुक,र मिडियाहरुमा सार्वजनिक हुन थालेका छन् ।
प्राइमरी प्रणालीमाथि नै प्रश्न
रास्वपाले पहिलोपटक प्रयोग गरेको ‘प्राइमरी इलेक्सन’ प्रणाली पनि विवादमा परेको छ। प्राइमरीमार्फत उच्च मत ल्याएका केही नेताहरू समानुपातिक सूचीमा नपरेपछि आन्तरिक लोकतन्त्रबारे बहस सुरु भएको हो। दलित क्लस्टरबाट सर्वाधिक मत ल्याएका केन्द्रीय सदस्य विजय जैरुले आफ्नो नाम बन्दसूचीमा नपर्नुलाई अन्यायपूर्ण भनेका छन्। उनले शीर्ष नेतृत्वबाट कुनै जानकारी वा परामर्श नलिइएको गुनासो गरेका छन्।
पार्टी नेतृत्वले भने सूची बनाउँदा प्राइमरी मतसँगै अन्य मापदण्डसमेत प्रयोग गरिएको र हतारमा प्राविधिक त्रुटि भएको स्वीकार गरेको छ। सभापति लामिछानेले सूची सच्याउने प्रयास हुने आश्वासन दिएको जैरुको भनाइ छ।
कुलमान घिसिङको प्रष्टीकरण
समानुपातिक सूचीमा आफ्ना नातेदारलाई राखिएको आरोप लागेपछि कुलमान घिसिङले सार्वजनिक स्पष्टीकरण दिएका छन्। उनले ‘भान्जा’ र ‘ससुरा’ भनेर प्रचार गरिएका व्यक्ति आफ्ना नातेदार नभएको र आफूले कसैलाई सिफारिस नगरेको स्पष्ट पारेका छन्। सूची पार्टीको विधि, मापदण्ड र सामूहिक निर्णयबाट बनेको भन्दै नियोजित हल्ला फैलाइएको उनको दाबी छ।
नेतृत्व सहमतिले झन् बढायो चासो
यसैबीच रास्वपाभित्र नेतृत्व संरचना विस्तारबारे नयाँ सहमति बनेको दाबी गरिएको छ। पार्टी स्रोतका अनुसार सभापति रवि लामिछाने र कुलमान घिसिङबीच घिसिङलाई उपसभापति बनाउने विषयमा समझदारी भएको छ। सहमतिअनुसार घिसिङतर्फबाट १८ जनालाई समानुपातिक सूचीमा समावेश गरिने र बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रारम्भिक सहमति भइसकेको बताइएको छ।
यस्ता सहमति, विवाद र सार्वजनिक असन्तोषका घटनाले रास्वपाभित्र ‘घरझगडा’ बढ्दै गएको संकेत गरेको छ। वैकल्पिक राजनीतिक शक्ति बन्ने दाबी गरेको पार्टी अहिले आफ्नै आन्तरिक निर्णय प्रक्रिया र पारदर्शिताको कठोर परीक्षामा परेको देखिन्छ।




