देश

तेल स्वार्थका लागि अमेरिकाले भेनेजुएलामाथि सैन्य हस्तक्षेप गर्‍यो : झलनाथ खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले अमेरिकाले भेनेजुएलामाथि गरेको सैन्य कारबाहीलाई गम्भीर अपराधको रूपमा व्याख्या गरेका छन्। प्रेस विज्ञप्ति जारी गर्दै नेता खनालले अमेरिकी ट्रम्प प्रशासनले डेल्टा फोर्स प्रयोग गरी ल्याटिन अमेरिकाको सानो मुलुक भेनेजुएलामाथि भीषण आक्रमण गरेको आरोप लगाए। उनका अनुसार करिब १५० लडाकु विमान प्रयोग गरी गरिएको उक्त आक्रमणमा सर्वसाधारण नागरिक र सैनिकको ज्यान गएको छ भने सैन्य संरचना पूर्ण रूपमा ध्वस्त पारिएको छ।

खनालले निर्वाचित तथा वैधानिक राष्ट्रपति निकोलस मदुरो र प्रथम महिला सेलिया फ्लोरेसलाई जबर्जस्ती अपहरण गरी अमेरिका लगिनु भेनेजुएलाको सार्वभौमसत्तामाथिको ठाडो हस्तक्षेप भएको बताए। उनले यस्तो कदमलाई अन्तर्राष्ट्रिय कानूनको खुला उल्लंघन र विश्व समुदायका लागि लज्जास्पद उदाहरणको संज्ञा दिएका छन्।

“यो एउटा स्वतन्त्र राष्ट्रमाथि गरिएको नाङ्गो आक्रमण हो,” विज्ञप्तिमा उल्लेख छ, “यसप्रति हाम्रो पार्टी र सम्पूर्ण नेपाली जनताको तर्फबाट कडा निन्दा र भर्त्सना गर्दछु।”नेता खनालले अमेरिकाले लामो समयदेखि भेनेजुएलामाथि स्वार्थपूर्ण दृष्टि राख्दै आएको दाबी गर्दै त्यसको मुख्य कारण देशको विशाल तेल भण्डार भएको बताए। विश्वकै सबैभन्दा ठूलो तेल भण्डार रहेको भेनेजुएलाका प्राकृतिक स्रोत कब्जा गर्ने उद्देश्यले अमेरिकी प्रशासनले मदुरो सरकारलाई निशाना बनाएको उनको आरोप छ।

उनका अनुसार मदुरो सरकार अमेरिकी स्वार्थको बाटोमा बाधक बनेपछि ‘ड्रग ट्राफिकिङ’ जस्ता नक्कली बहाना खडा गरी आक्रमण र अपहरणजस्ता कठोर कदम चालिएको हो। खनालले यस किसिमका गतिविधिले अन्तर्राष्ट्रिय सम्बन्ध र विश्व शान्तिमाथि गम्भीर असर पार्ने चेतावनी पनि दिएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *