काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच ललितपुरमा भेटवार्ता भएको छ। जेनजी आन्दोलनपछि यी दुई शीर्ष नेताबीच भएको यो पहिलो प्रत्यक्ष संवाद मानिएको छ। ललितपुरको च्यासल क्षेत्र नजिकै भएको भेटमा समसामयिक राजनीतिक अवस्था, आसन्न निर्वाचन र सरकारको भूमिकाबारे गहन छलफल भएको स्रोतले जनाएको छ। छलफलमा दुवै नेताले सरकारले निष्पक्ष र अनुकूल चुनावी वातावरण निर्माण गर्नुको साटो राजनीतिक दल र शीर्ष नेतृत्वको मानमर्दनमा केन्द्रित भएको निष्कर्ष निकालेका छन्।
प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार गोविन्द आचार्यका अनुसार भेटमा निर्वाचनको तयारी, राष्ट्रियसभा निर्वाचनमा सम्भावित सहकार्य र वर्तमान सरकारको कार्यशैलीबारे विचारविमर्श भएको थियो। तर ती विषयमा ठोस सहमति भने बन्न नसकेको उनले बताए। आचार्यका अनुसार संवाद सौहार्दपूर्ण भए पनि छलफल निष्कर्षमुखी बन्न सकेन। “चुनावी वातावरण निर्माण, राष्ट्रिय राजनीतिक सहकार्य र सरकारको भूमिकाबारे व्यापक समीक्षा भयो, तर तत्काल निर्णयमा पुगिएन,” उनले भने।
प्रचण्ड भारत भ्रमणका लागि दिल्ली प्रस्थान गर्नुअघि ओलीसँग भेटेका हुन्। यो भेटलाई पछिल्लो समय चिसिएको राजनीतिक संवाद पुनः सक्रिय बनाउन गरिएको पहलका रूपमा हेरिएको छ।दुई ठूला वाम नेताबीच भएको यस संवादले आगामी दिनमा सत्ता राजनीति र निर्वाचन रणनीतिमा कस्तो असर पार्छ भन्ने विषय राजनीतिक वृत्तमा चासोको केन्द्र बनेको छ।




