राजनीति

विशेष महाधिवेशन अब आवश्यक छैन : कांग्रेस नेता निधि

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीभित्र विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको स्पष्ट पारेका छन्। केन्द्रीय कार्यसमितिले यसअघि नै नियमित महाधिवेशनको कार्यतालिका सर्वसम्मत रूपमा पारित गरिसकेको अवस्थामा विशेष महाधिवेशनको चर्चा गर्नु अर्थहीन भएको उनको भनाइ छ। निधिका अनुसार मंसिर १५ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले पुस २६ देखि २८ गतेसम्म नियमित महाधिवेशन गर्ने निर्णय गरेसँगै विशेष महाधिवेशनको विकल्प स्वतः खारेज भएको हो। “त्यही दिनदेखि विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको हो,” उनले प्रतिक्रिया दिए।

उनले सबै राजनीतिक दल निर्वाचनको तयारीमा जुटिसकेकाले निर्वाचनअघि विशेष वा नियमित कुनै पनि प्रकारको महाधिवेशन हुन नसक्ने अवस्था रहेको बताए। यस्तो परिस्थितिमा महामन्त्रीद्वयले विशेष महाधिवेशन आह्वान गर्नु गैरजिम्मेवारपूर्ण र पार्टी निर्णयविपरीतको कदम भएको उनको टिप्पणी छ। “केन्द्रीय कार्यसमितिले गरेका निर्णय कार्यान्वयन गर्नु महामन्त्रीको दायित्व हो,” निधिले भने, “केन्द्रीय समितिले विशेष महाधिवेशन गर्ने निर्णय नै नगरेको अवस्थामा त्यसका लागि आह्वान गर्नु विधान र पार्टी अनुशासनविरुद्ध हो।”

पार्टीभित्र सहमति खोज्न सभापतिसँग छलफल भएको छ कि छैन भन्ने प्रश्नमा निधिले आफूलाई कुनै जानकारी नरहेको बताए। “त्यसबारे हामीसँग कुनै छलफल भएको छैन,” उनले भने।यसैबीच, कार्यवाहक सभापति पूर्णबहादुर खड्काले संस्थापन पक्षका केन्द्रीय कार्यसम्पादन समिति सदस्यहरूसँग छलफल गर्ने तयारी गरेका छन्। उक्त छलफलमा पार्टीको पछिल्लो विवाद र कार्यसम्पादन समितिमा प्रस्तुत गरिने धारणा बारे विचार–विमर्श हुने बताइएको छ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगन गर्दै पुस २७ देखि २९ गतेसम्म विशेष महाधिवेशन आह्वान गरेपछि कांग्रेसभित्र आन्तरिक विवाद थप चर्किएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *