काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी विभाजन कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारेका छन्। पार्टीभित्र विशेष महाधिवेशनलाई लिएर विवाद चर्किरहेका बेला उनले सबै पक्षलाई मिलेर अगाडि बढ्ने वातावरण बनाउन आग्रह गरेका छन्।
शुक्रबार आफ्नै निवास महाराजगन्जमा २५ जना केन्द्रीय सदस्यहरूसँगको छलफलमा सभापति देउवाले पार्टीको एकता जोगाउन आफू प्रतिबद्ध रहेको बताएका हुन्। भेटमा सहभागी केन्द्रीय सदस्यहरूका अनुसार देउवाले आन्तरिक मतभेद संवादमार्फत समाधान गर्नुपर्नेमा जोड दिएका थिए। “पार्टी नफुटोस्, सबै मिलेर अघि बढौँ भन्ने चाहना सभापतिज्यूको छ,” भेटमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए।
छलफलका क्रममा केन्द्रीय सदस्यहरूले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले घोषणा गरेको विशेष महाधिवेशनले पार्टीलाई विभाजनतर्फ लैजान सक्ने जोखिम औँल्याउँदै सभापति देउवालाई सतर्क रहन आग्रह गरेका थिए। उनीहरूले विशेष महाधिवेशनको सट्टा नियमित महाधिवेशनकै प्रक्रिया अघि बढाउन सुझाव दिएका छन्। भेटमा आङगेलु शेर्पा, पुष्पा भुसाल, डा. डिला संग्रौलालगायतका केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको थियो। केन्द्रीय सदस्य शेर्पाका अनुसार हाल महामन्त्रीद्वयसँग पनि यस विषयमा निरन्तर छलफल भइरहेको छ।
महामन्त्रीद्वय थापा र शर्माले नियमित महाधिवेशन स्थगन गरी २७ पुसमा विशेष महाधिवेशन गर्ने तयारीको घोषणा गरेपछि कांग्रेसभित्र विवाद चुलिएको हो। सो विवाद समाधानका लागि शुक्रबार दिउँसो ३ बजे कार्यसम्पादन समिति बैठक बोलाइएको छ। केन्द्रीय सदस्यहरूले बाँकी रहेको क्रियाशील सदस्यता टुंग्याएर वडा तहका अधिवेशन तत्काल सुरु गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। “एक पक्षले मात्र विशेष महाधिवेशन आह्वान गर्दा पार्टी गम्भीर संकटमा पर्न सक्छ,” एक केन्द्रीय सदस्यले भने, “पार्टी जोगाउन सभापतिले नेतृत्वदायी भूमिका खेल्नुपर्छ भन्ने हाम्रो आग्रह हो।”
पुस १६ गतेका लागि तय भएको वडा अधिवेशन प्रभावित भएपछि उत्पन्न परिस्थितिले कांग्रेसको आन्तरिक राजनीति थप तरंगित बनेको छ।




