काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबारे पार्टीभित्र बहस चर्किरहेका बेला महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगित गर्दै विशेष महाधिवेशन बोलाएको विषयमा कांग्रेस संस्थापनइतर समूहका वरिष्ठ नेता डा. शेखर कोइरालाले कडा आपत्ति जनाएका छन्।
डा. कोइरालाले पार्टीको विधि र विधान विपरीत गएर महामन्त्रीहरूले एकल रूपमा विशेष महाधिवेशनको घोषणा गर्नु अवैधानिक भएको बताएका छन्। उनका अनुसार विशेष महाधिवेशन बोलाउने अधिकार पार्टीको केन्द्रीय कार्यसमितिसँग मात्र हुन्छ, न कि महामन्त्रीहरूसँग।
“विशेष महाधिवेशन कसले गर्ने भन्ने कुरा स्पष्ट छ। केन्द्रीय कार्यसमितिले निर्णय गर्नुपर्छ, आवश्यक कार्यविधि बनाउनुपर्छ,” उनले भने, “महामन्त्रीहरूले आफैँ विशेष महाधिवेशनको कुरा गर्नु भनेको विधानलाई बेवास्ता गर्नु हो।”
उनले पार्टीभित्र देखिएको अव्यवस्थाका लागि पनि महामन्त्रीहरू जिम्मेवार हुनुपर्ने उल्लेख गरे। क्रियाशील सदस्यता नवीकरण, (फर्जी) सिरियल नम्बरबिनाको प्रयोग, र अझै धेरै जिल्लामा सदस्यता प्रक्रिया सम्पन्न नभएको विषयमा प्रश्न उठाउँदै उनले जवाफ कसले दिने भनी सोधे।
“आफ्नो जिम्मेवारी बहन नगर्ने अनि सबै दोष अरूको टाउकोमा थोपर्ने प्रवृत्ति ठीक होइन,” डा. कोइरालाले भने, “सामाजिक सञ्जालमा हल्ला फैलाएर पार्टी चल्दैन।” उनका अनुसार पार्टीलाई विधि, प्रक्रिया र जिम्मेवारीको आधारमा अघि बढाउन आवश्यक छ, नकि व्यक्तिको मनोमानी निर्णयबाट।




