देश

महाधिवेशन विवादबीच कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो ३ बजे केन्द्रीय कार्यालय सानेपामा हुनेछ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन भनिएको छ। बैठकमा महाधिवेशनसम्बन्धी विवादबारे छलफल हुने नेताहरूले बताएका छन्।

यसअघि बिहीबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त विज्ञप्ति जारी गर्दै नियमित महाधिवेशन स्थगित भएको जानकारी दिएका थिए। उनीहरूले अबको विकल्प विशेष महाधिवेशन रहेको बताएका छन्।

महामन्त्रीद्वयले नियमित महाधिवेशन हुन नसकेको अवस्थामा पार्टी विधानको दफा १७ (२) बमोजिम विशेष महाधिवेशनसम्बन्धी मागलाई सम्बोधन गर्नु केन्द्रीय कार्यालयको जिम्मेवारी भएको उल्लेख गरेका छन्।

कांग्रेसमा विशेष महाधिवेशनको माग गर्दै गत असोज २९ गते २ हजार ४८८ महाधिवेशन प्रतिनिधिले हस्ताक्षर बुझाएका थिए। उक्त हस्ताक्षरका आधारमा विशेष महाधिवेशन बोलाउने वा नबोलाउने जिम्मेवारी केन्द्रीय कार्यसमितिको भएको संस्थापन पक्षको तर्क छ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *