काठमाडौं । नेकपा नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकलाई योजनाबद्ध रूपमा अस्थिर बनाउने प्रयास भइरहेको दाबी गर्दै सबै वामपन्थी शक्तिलाई एकताबद्ध हुन आग्रह गरेका छन् । उनले नेपाललाई युक्रेनजस्तै द्वन्द्वग्रस्त बनाउने षड्यन्त्र चलिरहेको आरोप लगाएका हुन् ।
अंग्रेजी नयाँ वर्षको अवसरमा शुभकामना सन्देश जारी गर्दै खनालले ‘जेनजी आन्दोलन’को नाममा देशलाई गम्भीर संकटतर्फ धकेल्ने गतिविधि भइरहेको उल्लेख गरेका छन् । उनका अनुसार यस प्रकारका गतिविधिमा पश्चिमा शक्ति र नेपालभित्र रहेका उनीहरूका समर्थक सक्रिय छन् ।
खनालले अन्तर्राष्ट्रिय साम्राज्यवादी शक्तिहरू र तिनका ‘स्थानीय दलाल’हरूले नेपाली समाजलाई भ्रमित पार्ने प्रयास गरिरहेको दाबी गरे । “नेपाली जनतालाई सबै राजनीतिक नेतृत्वविरुद्ध उभ्याउने, परिवर्तनका लागि संघर्ष गर्दै आएका पार्टीहरूलाई बदनाम गर्ने र समाजवादविरुद्ध विदेशी पैसा तथा प्रलोभन प्रयोग गरेर दुष्प्रचार गरिँदैछ,” उनले भनेका छन् ।
उनका अनुसार यस्ता गतिविधिले देशलाई हिंसा र विध्वंसतर्फ लैजाने खतरा बढाएको छ । त्यसबाट जोगिन वामपन्थी र कम्युनिस्ट दलहरूबीच विचारगत मतभेदभन्दा माथि उठेर साझा मोर्चा निर्माण गर्नुपर्नेमा उनले जोड दिएका छन् ।





