राजनीति

निर्वाचन तालिका नबद्लिने प्रधानमन्त्रीको स्पष्टता, राजनीतिक सहकार्यको भूमिका निर्णायक

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्धारित कार्यतालिकाअनुसार नै आगामी निर्वाचन सम्पन्न हुने स्पष्ट पारेकी छन्। राजनीतिक दल र युवा पुस्तासँगको निरन्तर संवाद तथा सहकार्यका कारण निर्वाचनका लागि अनुकूल वातावरण बनेको उनको भनाइ छ। नेपाल उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले तोकिएकै मितिमा निर्वाचन गराउन सहयोग पुर्‍याएको भन्दै राजनीतिक दल, निर्वाचन आयोग र सरोकारवाला निकायप्रति आभार व्यक्त गरिन्।

उनले भनिन्, “सुशासनको आधार तयार गर्ने र २१ फागुनमा निर्वाचन सम्पन्न गर्ने उद्देश्यका साथ यो सरकार बनेको हो। सरकार, राजनीतिक दल र युवाहरूबीचको निरन्तर संवाद र सहकार्यले आज तोकिएकै मितिमा निर्वाचन गर्ने अवस्थामा हामी पुगेका छौँ।” प्रधानमन्त्री कार्कीले नेपालको पछिल्लो ७५ वर्षको राजनीतिक यात्राको स्मरण गर्दै पटक–पटक भएका राजनीतिक परिवर्तन अपेक्षाअनुसार दिगो हुन नसकेको उल्लेख गरिन्। अन्तरिमसहित पाँच पटक संविधान बने पनि ती परिवर्तनले नागरिकको जीवनस्तरमा अपेक्षित सुधार ल्याउन नसकेको उनको टिप्पणी थियो।

“पेशा, व्यवसाय र रोजगारीका अवसर पर्याप्त नहुनु, आचरण र व्यवहार न्यायपूर्ण नहुनुले जनतामा निराशा बढ्दै गयो,” उनले भनिन्, “त्यही निराशा समयक्रममा असन्तोषको रूप लिँदै संकटमा परिणत भयो।” प्रधानमन्त्री कार्कीले जनताको निराशालाई सम्बोधन गर्न नसकिए मुलुक पुनः गम्भीर संकटतर्फ धकेलिन सक्ने चेतावनी दिँदै अब ती समस्यालाई चिरेर अगाडि बढ्नु नै सरकारको मुख्य चुनौती भएको उल्लेख गरिन्।

प्रधानमन्त्री कार्कीले निजी क्षेत्रलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकार तयार रहेको बताएकी छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको शान्ति, स्थायित्व र समृद्धिको लागि सहकार्य विषयमा सर्वपक्षिय राष्ट्रिय संवाद कार्यक्रममा उनले यस्तो बताएकी हुन् । उनले भनिन,‘ढलेका निजी क्षेत्रका संरचना पुनः निर्माण भएर कलकारखाना फेरि जल्दैनन् भन्ने ग्यारेन्टी दिन तयार छौँ। ताकि ढुक्क सँग हाम्रा उद्यमी व्यवसायीले लगानी गर्न सकुन। देशको करदाता, सेवा प्रदायक, बजार निर्माणकर्ता, राजस्व संकलनमा योगदानकर्ता एवं सम्पत्ति निर्माण गर्ने उद्यमी व्यवसायीको मनोबल उच्च राखी लगानी बढाउन निर्बाध पेशा र व्यवसाय गर्न पाउने हकको हामी सम्मान गर्दछौँ।’

 

उद्यमी व्यवसायीहरुलाई लुट, सेवा र सुरक्षा प्रदान गर्ने सुनिश्चितता सँगै बन्द हड्ताल, तोडफोड, आगजनी लगायतका आक्रमण निरुत्साहित हुने कार्यमा समाधान गर्न उद्योग, कलकारखाना, प्रतिष्ठान, निजी आवास लगायतको सुरक्षा सुनिश्चित गर्न आवश्यक जे जस्ता कदम चाल्नु पर्छ त्यसका लागि मन्त्रिपरिषद्का सदस्यहरुसँग छलफल गरी आवश्यक निर्णय लिने प्रधानमन्त्री कार्कीको भनाइ छ ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *