काठमाडौं । नेपाली कांग्रेसले हरेक वर्ष पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै आएको छ । यही दिन २०३३ सालमा पार्टीका संस्थापक नेता बीपी कोइराला भारतको लामो निर्वासन त्यागेर स्वदेश फर्किएका थिए । त्यो कदम केवल व्यक्तिगत साहस मात्र थिएन, नेपाल राज्यको अस्तित्व जोगाउने दूरदर्शी राजनीतिक निर्णयका रूपमा आज पनि स्मरण गरिन्छ ।
बीपी नेपाल फर्किँदा देशमा राजाको सक्रिय नेतृत्वमा पञ्चायती व्यवस्था थियो भने दक्षिण एसियाको भूराजनीतिक वातावरण पनि अस्थिर बन्दै गएको थियो । त्यस्तो अवस्थामा उनले ‘राष्ट्रिय मेलमिलाप’ को नीति अघि सारे, जसको मूल उद्देश्य सत्ता प्राप्ति होइन, राष्ट्रियता र लोकतन्त्रको रक्षा थियो । सिक्किम भारतमा विलय भइसकेको सन्दर्भमा बीपीले “राजा र प्रजातन्त्रवादी शक्तिहरू नमिल्ने हो भने देशै संकटमा पर्छ” भन्ने निष्कर्ष निकालेका थिए ।
पाँच दशकपछि फर्केर हेर्दा, नेपाल आज पनि उस्तै प्रकारका—झन् जटिल—चुनौतीको सामना गरिरहेको छ । विश्व राजनीति शक्ति संघर्षको नयाँ चरणमा प्रवेश गरिरहेको छ । भारत र चीन क्षेत्रीय मात्र होइन, विश्व शक्ति बन्ने दिशामा छन् । अमेरिका–चीन प्रतिस्पर्धा, रुस–युक्रेन युद्ध, हतियारको होड, जलवायु संकट र आर्थिक अनिश्चितताले नेपालजस्ता अल्पविकसित मुलुकलाई झन् संवेदनशील बनाएको छ ।
यस्तो अवस्थामा राष्ट्रिय सहमति र सहकार्य कमजोर भयो भने देश आन्तरिक द्वन्द्वमा फस्ने खतरा बढ्ने विश्लेषकहरू बताउँछन् । यही कारण मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसमाथि सबैलाई मिलाएर निकास दिने ऐतिहासिक जिम्मेवारी आएको छ ।
तर व्यवहारमा कांग्रेस आफैं गम्भीर संकटमा देखिन्छ । पार्टी सत्तामा रहँदा पनि २०८२ भदौ २३–२४ को जेनजी आन्दोलनको संकेत नपाउनु, २७ घण्टामै राजनीतिक परिस्थिति उल्टिनु र संविधान नै संकटमा पर्नु कांग्रेसका लागि आत्मसमीक्षाको विषय बनेको छ । युवाहरू सडकमा उत्रिनुका पछाडि कुशासन, भ्रष्टाचार र अवसरको अभाव मुख्य कारण बनेको तथ्य कांग्रेसले स्वीकार गर्नैपर्छ ।
आज कांग्रेस मात्र होइन, सबै पुराना दलहरू नयाँ र वैकल्पिक भनिएका शक्तिको चुनौती सामना गरिरहेका छन् । तर कांग्रेस स्पष्ट नीति र दीर्घकालीन दृष्टिकोण लिएर जनतामाझ जानुपर्ने बेला आन्तरिक गुटबन्दीमै अल्झिएको देखिन्छ । यही प्रवृत्तिले पार्टी असान्दर्भिक बन्ने जोखिम बढेको छ ।
१५औँ महाधिवेशनको संघारमा पुगेको कांग्रेसले पुस २६–२८ मा महाधिवेशन गर्ने घोषणा गरे पनि समयसीमा नजिकिँदै जाँदा अनिश्चितता बढ्दै गएको छ । नेताहरूबीच सार्वजनिक रूपमा चलिरहेका आरोप–प्रत्यारोपले पार्टीभित्र मेलमिलापभन्दा टकराव बढी देखिएको छ । यो अवस्था ‘घरको झगडा माइक लगाएर सुनाएजस्तै’ भएको टिप्पणी कार्यकर्तामाझ फैलिन थालेको छ ।
कांग्रेसको गुटगत समस्या नयाँ होइन । बीपी, सुवर्ण शमशेर र गणेशमान सिंहबीच मतभेद हुँदाहुँदै पनि संवाद र सहमतिबाट समाधान खोजिन्थ्यो । तर अहिले छलफलभन्दा निषेध र शक्ति प्रदर्शन हावी भएको देखिन्छ, जसले दीर्घकालमा पार्टीलाई नै कमजोर बनाउने निश्चित छ ।
नयाँ पुस्ता—जेनजी—ले बीपीको समय देखेको छैन । उनीहरू आफ्नै एजेन्डा, भाषा र आन्दोलन लिएर अघि बढिरहेका छन् । वैकल्पिक शक्तिहरू १० वर्षे भिजन बोकेर जनतामा जाँदा, लामो इतिहास बोकेको कांग्रेस अझै आत्मसंघर्षमै सीमित छ । बीपीको मेलमिलाप नीतिलाई समयअनुकूल व्याख्या गर्दै नयाँ पुस्ताको भावना समेट्ने एजेन्डा ल्याउन कांग्रेस ढिलो भइसकेको संकेत देखिन्छ ।
दैनिक हजारौँ युवा रोजगारी र अध्ययनका लागि विदेश पलायन भइरहेका छन् । महिला, दलित, जनजाति र सीमान्तकृत समुदायका समस्या उस्तै छन् । अब कांग्रेससँग समय सीमित छ । आगामी १० वर्षमा देशको रूपान्तरण, रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन, शिक्षा र स्वास्थ्यमा आमूल सुधारको स्पष्ट खाका नल्याए इतिहासले कांग्रेसलाई माफ नगर्ने चेतावनी देखिन थालेको छ ।
देश निर्माणका लागि कुनै शक्ति पनि बहिष्कारयोग्य छैन । सबैसँग सहकार्य गर्दै अघि बढ्नु नै आजको आवश्यकता हो । त्यसैले राष्ट्रिय एकता र मेलमिलापको नीति कांग्रेसका लागि मात्र होइन, सिंगो राष्ट्रका लागि झनै सान्दर्भिक बन्दै गएको छ । बीपीले देखाएको बाटो आज फेरि परीक्षणमा परेको छ—अब प्रश्न यो हो, कांग्रेस त्यो बाटो हिँड्न तयार छ कि छैन ?




