काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशन बोलाउने विषयले तीव्र राजनीतिक बहस जन्माएको छ । तोकिएको समयमा १५औँ नियमित महाधिवेशन हुन नसक्ने अवस्था बनेपछि पार्टीका महामन्त्री गगन थापाले पुसभित्रै विशेष महाधिवेशन आह्वान गर्ने तयारी अघि बढाएका छन् । तर, पार्टी सभापति शेरबहादुर देउवाले भने यसलाई व्यवहारिक नदेखिएको भन्दै असम्भव रहेको बताएका छन् ।
यसअघि कांग्रेसले पुस २६ देखि २८ गतेसम्म नियमित महाधिवेशन गर्ने कार्यतालिका तय गरेको थियो । सो समयसीमा कार्यान्वयन हुन नसक्ने भएपछि महामन्त्री थापाले विशेष महाधिवेशन नै पार्टी एकता र आत्मविश्वासका लागि आवश्यक भएको धारणा सार्वजनिक गरेका हुन् ।
सामाजिक सञ्जालमार्फत थापाले पुस मसान्तभित्र विशेष महाधिवेशन बोलाउनु विधानतः बाध्यकारी मात्र नभई कांग्रेसलाई राष्ट्रप्रति जिम्मेवार बनाउने आधार भएको उल्लेख गरेका छन् । उनले पार्टीलाई पुनर्जीवित गर्न विशेष महाधिवेशनमा दृढतापूर्वक उभिन कार्यकर्तालाई आह्वानसमेत गरेका छन् ।
कांग्रेस विधानअनुसार केन्द्रीय समितिले आवश्यक ठानेमा वा कम्तीमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित माग गरेमा विशेष महाधिवेशन बोलाउन सकिने व्यवस्था छ । दोस्रो विकल्पअनुसार १४औँ महाधिवेशनका ५४ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशनको माग गरिसकेका छन्, जसको तीन महिनाको समयसीमा पुस २८ गते सकिँदैछ ।
केन्द्रीय समितिले विशेष महाधिवेशन आह्वान नगरेमा कसले बोलाउने भन्ने विषयमा मागकर्ताहरूले कानुन व्यवसायीसँग परामर्श लिएका छन् । कानुनी मतअनुसार केन्द्रीय कार्यालय महामन्त्रीको मातहतमा रहने भएकाले दुई महामन्त्रीले विशेष महाधिवेशन बोलाउन सक्ने आधार रहेको बताइएको छ ।
वरिष्ठ अधिवक्ता यदुनाथ खनालले कांग्रेस विधानका दफाहरूको व्याख्या गर्दै महामन्त्रीलाई विशेष महाधिवेशन आह्वान गर्ने स्पष्ट अधिकार रहेको तर्क गरेका छन् ।
यता, पार्टी संस्थापन पक्ष भने विशेष महाधिवेशनको पक्षमा देखिएको छैन । सभापति देउवाले नियमित महाधिवेशनको कार्यतालिका तय भइसकेकाले विशेष महाधिवेशनको बहस निरर्थक भएको बताएका छन् । विधि स्पष्ट नभएको र प्रक्रियागत जटिलता रहेको भन्दै उनले विशेष महाधिवेशन सम्भव नरहेको धारणा सार्वजनिक गरेका छन् ।
विशेष महाधिवेशनका पक्षधर नेताहरू भने पार्टी पुनर्जागरणका लागि यो अपरिहार्य भएको दाबी गर्छन् । केन्द्रीय सदस्य मधु आचार्यका अनुसार विशेष महाधिवेशनले नै नेतृत्व चयनको विधि तय गरेर नयाँ नेतृत्व चयन गर्न सक्नेछ ।
तर, कांग्रेसभित्र सबै एकमत छैनन् । नेता डा। शेखर कोइरालाले विशेष महाधिवेशनले पार्टी विभाजनको जोखिम बढाउन सक्ने भन्दै अब पार्टीले आन्तरिक विवाद अन्त्य गरी आगामी निर्वाचनतर्फ केन्द्रित हुनुपर्ने धारणा राखेका छन् ।
यसबीच महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टी पुनर्गठनबिनै चुनावमा जान नसकिने अडान लिँदै आएका छन् । उनीहरूले फागुन २१ को निर्वाचनअघि नयाँ नेतृत्व नआए चुनाव नलड्ने चेतावनीसमेत दिइसकेका छन् ।
विशेष महाधिवेशनलाई लिएर कांग्रेसभित्र देखिएको मतभेदले पार्टीको आगामी राजनीतिक दिशा कुनतर्फ मोडिन्छ भन्ने प्रश्न अझ गहिरिँदै गएको छ ।




