काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली राजनीतिक इतिहासको महत्वपूर्ण अध्याय स्मरण गर्दै आजको परिस्थितिमा पनि मेलमिलापको भावना उत्तिकै सान्दर्भिक रहेको बताएका छन् । वि.सं. २०३३ पुस १६ गते स्व. वीपी कोइराला र गणेशमान सिंहलगायत नेताहरूले लामो प्रवास त्यागेर स्वदेश फर्कने ऐतिहासिक निर्णय गरेको स्मरण गर्दै कोइरालाले उक्त कदमलाई नेपालको अस्तित्व जोगाउने साहसी र दूरदर्शी निर्णयको संज्ञा दिएका छन् ।
उनका अनुसार त्यसबेला अन्तर्राष्ट्रिय शक्तिराष्ट्रहरूको टकरावले नेपालजस्तो सानो मुलुक गम्भीर जोखिममा परेको थियो । यस्तो संवेदनशील अवस्थामा राष्ट्रिय एकता र मेलमिलापलाई नै सुरक्षित भविष्यको आधार ठान्दै वीपी स्वदेश फर्किनुभएको थियो । डाक्टर कोइरालाले वीपी स्वदेश फर्किएको पाँच दशकपछि आज पनि विश्व राजनीति अस्थिरता, दबाब र स्वार्थको घेरामा रहेको उल्लेख गर्दै राष्ट्रिय मेलमिलाप कुनै एक दलको नारा मात्र नभई सम्पूर्ण नेपाली समाजको साझा आवश्यकता बनेको बताएका छन् ।
उनले सत्ता र प्रतिपक्षको सीमाभन्दा माथि उठेर राष्ट्रिय हितका पक्षमा एकताबद्ध हुने समय आएको भन्दै लोकतन्त्रको रक्षा, स्थायित्व र समृद्ध भविष्यका लागि आन्तरिक मतभेद र व्यक्तिगत स्वार्थ त्याग्नुपर्नेमा जोड दिए । लोकतान्त्रिक शक्तिहरूबीच व्यापक सहमति र एकता अपरिहार्य रहेको उल्लेख गर्दै कोइरालाले जनताको विश्वास गुमेमा कुनै पनि राजनीतिक शक्ति इतिहासमा सीमित हुन सक्ने कटु यथार्थ स्वीकार गर्नुपर्ने धारणा राखे ।
नयाँ चुनौतीहरूबीच नागरिक अधिकारलाई सुदृढ गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि जिम्मेवार नेतृत्व, सहकार्य र मेलमिलापको विकल्प नरहेको उनको भनाइ छ ।राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा कोइरालाले नेपाली कांग्रेसले समग्र राष्ट्रको आवश्यकतालाई ध्यानमा राखी सही नेतृत्व प्रदान गर्दै देशका समस्या समाधानतर्फ अघि बढ्न प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गरेका छन् । अन्त्यमा उनले राष्ट्रिय एकता र लोकतन्त्रप्रतिको प्रतिबद्धता दोहोर्याउँदै ‘जय नेपाल’ को नारासहित आफ्नो सन्देश टुंग्याएका छन् ।




