राजनीति

रास्वपाभित्र किचलो सुरु, गठबन्धन कति होला दिगो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक उम्मेदवारका लागि निर्वाचन आयोगमा बुझाएको बन्दसूची पार्टीभित्रै व्यापक विवादको केन्द्र बनेको छ । उम्मेदवार छनोटका लागि अपनाइएको ‘प्राइमरी इलेक्सन’को नतिजा व्यवहारमा कार्यान्वयन नभएको आरोप लागेपछि पार्टीका नेता, कार्यकर्ता र समर्थकहरूले सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गर्न थालेका हुन् ।

पार्टीभित्रका केही नेताहरूले सामाजिक सञ्जालमार्फत खुलेरै आलोचना गरेका छन् भने कतिपयले संकेतात्मक टिप्पणीमार्फत नेतृत्वको निर्णयप्रति प्रश्न उठाएका छन् । रास्वपाकी केन्द्रीय सदस्य तथा पूर्वसांसद डा. तोसिमा कार्कीले बन्दसूचीले प्राइमरी इलेक्सनको मर्ममाथि प्रहार गरेको टिप्पणी गर्दै नेतृत्व तहकै निर्णयप्रति असहमति जनाएकी छन् ।

उनले पदाधिकारी र सचिवालयमा रहेका नेताहरू समानुपातिक सूचीबाट बाहिरिएर प्रत्यक्ष निर्वाचनमा जानुपर्ने धारणा राखेकी छन् । ‘नेतृत्वका आफन्त र निर्णय प्रक्रियामा प्रभाव राख्नेहरू नै समानुपातिक सूचीमा अग्रपंक्तिमा देखिनुले प्रणालीको औचित्यमै प्रश्न उठाएको छ,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।

प्राइमरी इलेक्सनमा राम्रो मत ल्याएका नेताहरू सूचीको पछिल्लो स्थानमा परेको भन्दै आलोचना बढेको छ । रास्वपाकी केन्द्रीय सदस्य ज्वाला संग्रौलाले पनि सूचीमा कमजोरी भएको स्वीकार गर्दै सच्याएर अघि बढ्नुपर्ने सुझाव दिएकी छन् । प्राइमरीमा महिलातर्फ दोस्रो धेरै मत ल्याएकी संग्रौला बन्दसूचीमा भने अपेक्षाकृत तल परेकी छन् ।

यसैबीच, आफूलाई सभापति रवि लामिछानेकी ‘बहिनी’ भनेर चिनाउने स्वस्तिका लामिछानेले पनि बन्दसूचीप्रति असहमति जनाएकी छन् । प्राइमरी इलेक्सनमा सहभागिता जनाएर राम्रो मत पाएकी स्वस्तिका अन्तिम सूचीमा नपरेपछि उनले ‘यो परीक्षा केन्द्रको हो’ भन्दै नेतृत्वको निर्णयमाथि प्रश्न उठाएकी छन् ।

पार्टीभित्रको असन्तोष यतिमै सीमित छैन । जेनजी आन्दोलनका अगुवाहरू, युवा अभियन्ता तथा समर्थकहरूले समेत समानुपातिक सूची नसच्याए अन्धाधुन्ध समर्थन नगर्ने चेतावनी दिएका छन् । उनीहरूले वैकल्पिक राजनीतिले नैतिकता र जवाफदेहितामा उदाहरण प्रस्तुत गर्न नसकेको टिप्पणी गरेका छन् ।

रास्वपाले उम्मेदवार छनोटका लागि पाँच बुँदे मापदण्ड बनाउँदै प्राइमरी इलेक्सनलाई ५० प्रतिशत भाराङ्क दिने निर्णय गरेको भए पनि अन्तिम सूचीमा अन्य राजनीतिक सन्तुलन, पार्टी एकता र भूगोललाई आधार बनाउँदा मत परिणाम पछाडि परेको पार्टी नेताहरू स्वीकार गर्छन् ।

कतिपय नेताहरूले भने नेतृत्व नजिकका व्यक्तिहरू माथिल्लो क्रममा पर्नु र धेरै मत ल्याएकाहरू सूचीबाटै हट्नुले ‘पुराना दलकै शैली दोहोरिएको’ आरोप लगाएका छन् । अर्कातर्फ, पार्टी नेतृत्वको पक्षबाट भने आन्तरिक एकता नै मूल शक्ति भएकाले सूचीले सबैलाई सन्तुष्ट पार्न नसकेको तर्क प्रस्तुत गरिएको छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार रास्वपाले सुरु गरेको प्राइमरी इलेक्सन अभ्यास सकारात्मक भए पनि यसको विश्वसनीयता जोगाउन पारदर्शिता र स्पष्ट मापदण्ड अपरिहार्य देखिएको छ । नत्र वैकल्पिक राजनीतिप्रति बनेको विश्वास कमजोर हुने जोखिम रहेको उनीहरूको निष्कर्ष छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *