देश

नेपाल मेडिकल काउन्सिलको नेतृत्वमा डा. कुन्जाङ शेर्पा निर्वाचित

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको उपाध्यक्ष पदमा मुटुरोग विशेषज्ञ डा. कुन्जाङ शेर्पा निर्वाचित भएका छन्। वीर अस्पतालमा कार्यरत डा. शेर्पाले हालै सम्पन्न निर्वाचनमा उच्च मत प्राप्त गर्दै उपाध्यक्षको जिम्मेवारी पाएका हुन्।

सम्पन्न मतगणनाअनुसार डा. शेर्पाले कुल ५ हजार २३४ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी डा. गुरुशरण शाहले ४ हजार ३५० मत ल्याउँदा अर्का उम्मेदवार डा. अजयसिंह थापाले १ हजार ८४४ मत प्राप्त गरेका छन्। यसअघि पनि काउन्सिल सदस्य रहेका डा. शेर्पा यसपटक उपाध्यक्षमा निर्वाचित भएका हुन्।

त्यसैगरी मेडिकल काउन्सिलका आठ सदस्य पदका लागि भएको निर्वाचनबाट विभिन्न चिकित्सक निर्वाचित भएका छन्। सबैभन्दा बढी मत डा. छविलाल पन्थीले ४ हजार ८५७ मतसहित प्राप्त गरे। सदस्यमा निर्वाचित हुने अन्य चिकित्सकहरूमा डा. सारिका गोइत (४,४७९), डा. दिपेन्द्र पाण्डे (४,०१५), डा. योविन कुमार यादव (३,६४८), डा. अस्मिता पोखरेल (३,४०४), डा. सम्राट पराजुली (३,२८२), निना राई (३,१११) र डा. रबिन बस्नेत (३,०७२) रहेका छन्।

निर्वाचनमा काठमाडौं उपत्यका र बाहिरी जिल्लाहरू गरी कुल ११ हजार ९२२ मत खसेको थियो। तीमध्ये काठमाडौं उपत्यकामा ५ हजार ७६ र उपत्यका बाहिर ६ हजार ८४६ मतदाताले मतदान गरेका थिए।

काउन्सिलको एक उपाध्यक्ष र आठ सदस्य चयनका लागि काठमाडौं बाहिर ४ र ५ पुस तथा काठमाडौं उपत्यकामा ११ र १२ पुसमा मतदान सम्पन्न भएको थियो। निर्वाचित उपाध्यक्ष तथा सदस्यहरूको कार्यकाल चार वर्षको रहने व्यवस्था छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *