राजनीति

कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारको सूची

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। प्राविधिक कारण आयोगमा सूची बुझाउने प्रक्रिया केही ढिला भएको कांग्रेस स्रोतले जनाएको छ ।  कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतका अनुसार आवश्यक प्राविधिक प्रक्रिया मिलाउनुपर्ने भएकाले समय लागे पनि मंगलबार बिहान आयोगमा बन्दसूची बुझाइएको हो। आयोगले तोकेको म्यादभित्र शुल्क बुझाइसकिए पनि अन्तिम सूची पेश गर्न ढिलाइ भएको उनले जानकारी दिए।

सोमबार दिउँसो पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्मा बन्दसूची बुझाउन निर्वाचन कार्यालय पुगेका थिए। तर सूचीमा समेटिएका नामहरूमा आन्तरिक समायोजन र प्राविधिक समस्या देखिएपछि प्रक्रिया रोकिएको थियो। देउवाको डिजिटल हस्ताक्षर मान्य नठहरिएपछि मुख्यसचिव कृष्णप्रसाद पौडेल मंगलबार बिहान महाराजगञ्जस्थित देउवा निवास पुगेर हस्ताक्षर गराएका थिए।

कांग्रेसले यसपटक २०६४ साल यता समानुपातिकतर्फ सांसद बनेका कुनै पनि नेताहरूलाई सूचीमा नसमेटेको जनाएको छ। साथै बन्दसूचीमा नयाँ पुस्ताको प्रतिनिधित्व उल्लेख्य रहेको भन्दै जेन–जी समूह पाँच प्रतिशतभन्दा बढी समेटिएको पार्टीले दाबी गरेको छ। समानुपातिक उम्मेदवार छनोट गर्दा कांग्रेसले संस्थापन पक्षलाई ६० प्रतिशत र इतर पक्षलाई ४० प्रतिशत हिस्सेदारी मिलाएर सूची तयार गरेको छ। सहमहामन्त्री भीष्मराज आङदेम्बे पनि समानुपातिक सूचीमा परेका छन्।

कांग्रेसले पाएको ११० समानुपातिक सिटलाई प्रदेशगत जनसंख्याको अनुपातमा बाँडफाँट गरेको छ। जसअनुसार कोसी प्रदेशबाट १८, मधेशबाट २१, बागमतीबाट २२, गण्डकीबाट ११, लुम्बिनीबाट १७, कर्णालीबाट १० र सुदूरपश्चिमबाट १० जनाको नाम सूचीमा समावेश गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *