राजनीति

महाधिवेशन गर्न म बाधक बन्दिँन तर विशेष महाधिवेशन हुँदैन : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनको मुखमा महाधिवेशन गरिएमा पार्टीभित्र देखिने आन्तरिक प्रतिस्पर्धाले चुनावी अभियानमा नकारात्मक असर पार्न सक्ने चेतावनी दिएका छन्।

मंगलबार काठमाडौंमा सञ्चारकर्मीहरूसँगको भेटघाटमा सभापति देउवाले आफूले यसबारे पार्टीका शीर्ष नेताहरूलाई सुझाव दिँदै आएको बताए। तर नेताहरूको साझा निर्णयका आधारमा नियमित महाधिवेशन गर्ने सहमति बने आफू त्यसमा अवरोध नबन्ने स्पष्ट पारे।

देउवाले १५औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार नरहने दोहोर्‍याउँदै त्यस प्रक्रियामा तटस्थ रहने बताए। विधानअनुसार पुनः सभापतिमा उम्मेदवारी दिन नमिल्ने र व्यक्तिगत चाहना पनि नरहेकाले नयाँ नेतृत्वलाई अघि बढ्न सहयोग गर्ने उनको भनाइ छ।

विशेष महाधिवेशनको प्रस्तावलाई भने उनले अस्वीकार गरे। विशेष महाधिवेशनले प्रक्रियागत विवाद र नयाँ झगडाको सुरुआत गर्ने भएकाले पार्टीलाई थप समस्यामा धकेल्ने देउवाको तर्क छ। त्यसकारण विशेष महाधिवेशनको कुनै औचित्य नरहेको उनले स्पष्ट गरे।

सभापति देउवाले पार्टीलाई एकतामा राख्दै आगामी निर्वाचनमा केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याउँदै सहमतिका आधारमा निर्णय लिनु नै अहिलेको प्रमुख प्राथमिकता भएको बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *