काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाउने राजनीतिक दलको संख्या सात पुगेको छ। आयोगका अनुसार आज अन्तिम दिनसम्म सात दलले आफ्नो सूची दर्ता गराइसकेका हुन्।
फागुन २१ मा हुने निर्वाचनलाई लक्षित गर्दै दलहरू उम्मेदवार चयनको अन्तिम चरणमा छन्। आयोगले सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल लोकतान्त्रिक पार्टी, जनप्रिय लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी), जनता समाजवादी पार्टी नेपाल र गतिशील लोकतान्त्रिक पार्टीले बन्दसूची बुझाएका छन्।
नेमकिपा, राष्ट्रिय जनमोर्चा र जसपा नेपालले अधिकतम सीमा अनुसार ११०–११० जनाको नाम समावेश गरेका छन्। अन्य दलतर्फ नेपाल लोकतान्त्रिक पार्टी र जनप्रिय लोकतान्त्रिक पार्टीले समानुपातिकतर्फ १२–१२ जना उम्मेदवारको सूची पेस गरेका छन् भने नेकपा (मार्क्सवादी–पुष्पलाल) ले २० जना र गतिशील लोकतान्त्रिक पार्टीले ११ जनाको नाम आयोगमा दर्ता गराएको छ। आयोगका अनुसार आज दिनभर सूची दर्ता गर्ने प्रक्रिया जारी रहनेछ।




