काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची बुझाउने दलको संख्या पाँच पुगेको छ। निर्वाचन आयोगका अनुसार आज अन्तिम दिन भएकाले दलहरूले आफ्नो उम्मेदवार सूची टुंग्याउने अन्तिम तयारी गरिरहेका छन्।
हालसम्म नेपाल मजदुर किसान पार्टी (नेमकिपा), राष्ट्रिय जनमोर्चा पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, जनप्रिय लोकतान्त्रिक पार्टी र नेपाली कम्युनिस्ट पार्टी (मार्क्सवादी–पुष्पलाल) ले आफ्नो सूची आयोगमा बुझाइसकेका छन्।
विवरणअनुसार, नेमकिपा र राष्ट्रिय जनमोर्चा पार्टीले समानुपातिक सूचीमा १ सय १०–११० जना उम्मेदवारको नाम पेश गरेका छन्। नेपाल लोकतान्त्रिक पार्टी र जनप्रिय लोकतान्त्रिक पार्टीले समान रूपमा १२–१२ जनाको सूची पेश गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टी (मार्क्सवादी–पुष्पलाल) ले २० जना उम्मेदवारको सूची आयोगमा बुझाएको छ।
निर्वाचन आयोगले आजभित्र बन्दसूची नबुझाए दललाई समानुपातिक निर्वाचन प्रक्रियामा भाग लिन अनुमति नदिने जनाएको छ। त्यसैले बाँकी दलहरू पनि आजै आफ्नो सूची पेश गर्ने सम्भावना रहेको आयोगका स्रोतले जनाएका छन्।




