देश

समानुपातिकमा नयाँ छानोट सूत्र : कांग्रेसले तय गर्‍यो ८ आधार, दोहोरिने सांसदलाई रोक

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची तयार पार्न स्पष्ट आन्तरिक मापदण्ड लागू गर्ने निर्णय गरेको छ। केन्द्रीय कार्यसम्पादन समिति बैठकले पारित गरेको ८ बुँदे मापदण्डअनुसार यसअघि संघ वा प्रदेश संसदमा समानुपातिक प्रणालीबाट निर्वाचित भइसकेकालाई आगामी बन्दसूचीमा समेटिने छैन।

मापदण्डमा लामो समयदेखि पार्टीमा क्रियाशील रहँदै आएका तर हालसम्म कुनै पनि लाभको पदमा निर्वाचित वा नियुक्ति नपाएका कार्यकर्तालाई प्राथमिकता दिने व्यवस्था गरिएको छ। पार्टीले लोकतन्त्र स्थापना र सुदृढीकरणका क्रममा विभिन्न तहमा योगदान दिएका, तर अवसरबाट वञ्चित रहँदै आएका व्यक्तिहरूलाई अगाडि बढाउने नीति लिएको जनाएको छ।

कांग्रेसले प्रतिनिधिसभा क्षेत्रीय समिति, जिल्ला कार्यसमिति र प्रदेश कार्यसमितिबाट तोकिएको मापदण्डअनुसार सिफारिस भएका नामहरूलाई बन्दसूचीमा समेट्ने तयारी गरेको छ। संविधान र पार्टी विधानको भावना अनुसार जातीय, क्षेत्रीय तथा भौगोलिक सन्तुलन कायम गर्दै समावेशी प्रतिनिधित्व सुनिश्चित गरिने पनि मापदण्डमा उल्लेख छ।

यसका साथै लोकतन्त्र प्राप्तिका लागि भएका आन्दोलन, संघर्ष र क्रान्तिमा सहिद भएका परिवारलाई प्राथमिकता दिने, प्रत्येक जिल्लाबाट न्यूनतम प्रतिनिधित्व हुने गरी योग्य र लोकप्रिय व्यक्तिहरूलाई समेट्ने नीति कांग्रेसले लिएको छ। युवा पुस्ताको सहभागिता बढाउने उद्देश्यले पनि सूचीमा स्थान सुनिश्चित गरिने जनाइएको छ।

पार्टीले विभिन्न पेसागत क्षेत्रका विज्ञ, बुद्धिजीवी, कलाकार, खेलाडी तथा स्वच्छ छवि भएका सामाजिक क्षेत्रका प्रतिष्ठित र विवादरहित व्यक्तित्वलाई पनि समानुपातिक बन्दसूचीमा समावेश गर्ने तयारी गरेको छ।

कांग्रेस सहमहामन्त्री महेन्द्र यादवका अनुसार मापदण्डअनुसार प्रारम्भिक रूपमा नामहरू छनोट भइसकेका छन् र अहिले त्यसलाई परिमार्जन गर्ने काम भइरहेको छ। “आन्तरिक मापदण्डभित्र रहेर पहिलो चरणका नाम टुंग्याएका छौँ, अब त्यसमा आवश्यक काटछाट गरेर अन्तिम रूप दिइँदैछ,” उनले बताए।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *