राजनीति

पूर्वगृहमन्त्री रमेश लेखक आयोगमा उपस्थित

काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिनका लागि गठित आयोगसमक्ष तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक सोमबार सिंहदरबार पुगेका छन्। जेनजी घटना छानबिन तथा जाँचबुझ आयोगले सो घटनाक्रम र त्यसपछिका सरकारी कदमबारे स्पष्टिकरण दिन उनलाई बयानका लागि बोलाएको हो।

आयोगका अनुसार तत्कालीन सरकारका निर्णय, सुरक्षा व्यवस्थापन र कारबाही प्रक्रियाबारे विस्तृत जानकारी लिन लेखकसँग बयान लिइँदैछ। आयोगले यसअघि तत्कालीन सुरक्षा निकायका प्रमुख, मुख्यसचिवलगायत उच्च पदस्थ अधिकारीहरूसँग समेत बयान लिइसकेको छ।

बयान दिएपछि लेखकले पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरेका छन्। छानबिनको क्रममा आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकलाई देश छाड्न नपाउने गरी स्थान हद तथा विदेश यात्रामा लगाइएको प्रतिबन्ध यथावत् राखेको छ।

सरकारले भदौ २३ र २४ को जेनजी घटनाको सत्यतथ्य सार्वजनिक गर्न गौरिबहादुर कार्कीको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको हो। आयोगले घटनासँग सम्बन्धित सबै पक्षसँग बयान लिएर प्रतिवेदन तयार गरी सरकारसमक्ष पेश गर्ने तयारी गरिरहेको जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *