काठमाडौ । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूचीमा समावेश हुने नेताहरूको प्रदेशगत र क्लस्टरगत संख्या अन्तिम रूप दिएको छ। आइतबार बसेको पार्टीको कार्यसम्पादन समिति बैठकले निर्वाचन आयोगले तोकेका मापदण्डअनुसार कुन प्रदेशबाट कुन क्लस्टरमा कति जनालाई समेट्ने भन्ने खाका टुंग्याएको हो।
कांग्रेसले सातै प्रदेशबाट गरी कुल ११० जनाको नाम समानुपातिक बन्दसूचीमा राख्ने निर्णय गरेको छ। यसअनुसार बागमती प्रदेशबाट सबैभन्दा धेरै २२ जना समेटिँदा सुदूरपश्चिमबाट सबैभन्दा कम १० जना सूचीमा पर्नेछन्। प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार प्रदेशगत रूपमा कोशीबाट १९, मधेसबाट २१, बागमतीबाट २२, गण्डकीबाट ११, लुम्बिनीबाट १८, कर्णालीबाट १० र सुदूरपश्चिमबाट १० जना नेताको नाम बन्दसूचीमा राखिनेछ।
कांग्रेसले निर्वाचन आयोगले निर्धारण गरेका छ वटा क्लस्टर—आदिवासी जनजाति, खसरआर्य, दलित, मधेसी, थारु र मुस्लिम—अनुसार पनि प्रतिनिधित्वको संख्या तोकेको छ। सबै प्रदेशको योग गर्दा आदिवासी जनजातिबाट ३२, खसरआर्यबाट ३४, दलितबाट १६, मधेसीबाट १६, थारुबाट ७ र मुस्लिम क्लस्टरबाट ५ जनाको प्रतिनिधित्व हुने छ।
प्रदेशगत क्लस्टर विभाजनअनुसार कोशी प्रदेशमा आदिवासी जनजातिको संख्या सबैभन्दा बढी ९ तोकिएको छ भने मधेस प्रदेशमा मधेसी क्लस्टरबाट १२ जनालाई समेटिने भएको छ। बागमती र गण्डकी प्रदेशबाट थारु र मुस्लिम क्लस्टर समेटिने छैनन्। कर्णाली प्रदेशमा खसरआर्य क्लस्टरको बाहुल्य रहनेछ भने सुदूरपश्चिममा खसरआर्य, थारु र दलित क्लस्टर मात्र समेटिने सहमति बनेको छ।
यसअघि संसदीय समिति बनाएर बन्दसूची तय गर्ने परम्परा भए पनि यसपटक कांग्रेसले कार्यसम्पादन समितिमार्फत नै अन्तिम निर्णय गरेर सूची बुझाउने तयारी गरेको छ। तय भएको खाकाअनुसार नाम समावेश गर्न सोमबार केन्द्रीय कार्यालय सानेपामा कार्यसम्पादन समिति बैठक बसिरहेको छ।
कांग्रेसले दिउँसो १ बजे निर्वाचन आयोगमा समानुपातिक बन्दसूची बुझाउने तयारी गरेको प्रचार विभाग प्रमुख विश्वकर्माले जानकारी दिएका छन्। उनका अनुसार “प्रदेश र क्लस्टरको मापदण्ड मिलाएर तयार गरिएको खाकाअनुसार नाम टुंग्याएर आयोगमा बुझाइनेछ।”




