देश

बागमती प्रदेशमा राष्ट्रियसभा निर्वाचन तयारी तीव्र, उम्मेदवार छनोटमा दल सक्रिय

बागमती । आगामी माघ ११ गते हुने भनिएको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशमा तयारी तीव्र भएको छ। निर्वाचन आयोगले मकवानपुर जिल्ला अदालतकी न्यायाधीश गीता श्रेष्ठलाई बागमती प्रदेश निर्वाचन अधिकृतमा नियुक्त गरेको छ।

बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रमुख हरिप्रसाद ढकालका अनुसार निर्वाचन अधिकृतको कार्यालय यही पुस १६ गते स्थापनाको तयारी भइरहेको छ। यस प्रदेशमा राष्ट्रियसभा सदस्यतर्फ एक महिला र एक खुला गरी दुई सिटका लागि निर्वाचन हुनेछ। मतदानस्थल हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा निर्धारण गरिएको छ भने प्रदेशसभा सदस्य र पालिकाका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षका लागि छुट्टाछुट्टै मतदान केन्द्र बनाइने छ।

निर्वाचन अधिकृतको कार्यालय स्थापनापछि पुस १७ गते अन्तिम मतदाता नामावली प्रकाशन, पुस १८ गते मतदाता दाबी–विरोध, र पुस २३ गते उम्मेदवारी दर्ता गरिने कार्यतालिका अनुसार अन्य काम अघि बढ्ने ढकालले जानकारी दिनुभयो। सुरक्षा निकायसँग समन्वय गर्दै निर्वाचनलाई निष्पक्ष र मर्यादित बनाउन प्रयास भइरहेको छ।

राजनीतिक दलहरू पनि सक्रिय छन्। नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँका अनुसार “जिल्लाबाट आएका सिफारिसहरू अध्ययन गरी पार्टीभित्र आन्तरिक छलफल भइरहेको छ। केन्द्रीय समितिसँगको छलफलपछि उम्मेदवारको अन्तिम टुङ्गो लगाइने छ।”

बागमती प्रदेशमा ११० सदस्यीय प्रदेशसभा र ११९ स्थानीय तह रहेको छ। राष्ट्रियसभाका लागि प्रदेशसभा र स्थानीय तहका ३४८ मतदाता छन्। कांग्रेसको प्रदेशसभा ३७ र स्थानीय तह १०८ मतदातासहित कुल चार हजार १३ मतभार रहेको छ। एमाले दुई हजार ५७१, माओवादी केन्द्र/एकीकृत समाजवादी दुई हजार ७३८, राष्ट्रिय प्रजातन्त्र पार्टी ७०८, नेपाल मजदुर किसान पार्टी १९७, हाम्रो नेपाली पार्टी ११० र स्वतन्त्र १९ मतभारसहित प्रतिस्पर्धामा छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *