राजनीति

रवि र बालेनलाई दश वर्ष टिकेर राजनीति गर्न काँग्रेस नेता राठौरको चुनौती

काठमाडौं । नेपाली काँग्रेसका नेता किशोर सिंह राठौरले पछिल्लो समय उदाएका नयाँ राजनीतिक दलहरूप्रति कडा टिप्पणी गर्दै उनीहरूलाई लामो समयसम्म पार्टी सञ्चालन गरेर देखाउन चुनौती दिएका छन्। आइतबार काँग्रेसको केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राठौरले केही वर्षअघि मात्रै स्थापना भएका जनमत पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीजस्ता दलहरूको उदाहरण दिँदै पाँच वर्ष पनि टिक्न नसकेकाहरूले ठूला कुरा गर्नु उपयुक्त नहुने बताए।

उनले नेपाली काँग्रेस र नेकपा एमालेजस्ता पुराना दलहरूले लामो संघर्षमार्फत जनतालाई अधिकार र विकास दिएको दाबी गर्दै अनुभवहीन र गैरजिम्मेवार शक्तिहरूले देश चलाउन नसक्ने टिप्पणी गरे। “सहकारी ठग, दलाल र गँजेडीहरूले राज्य सञ्चालन गर्न सक्दैनन्,” राठौरको भनाइ थियो। राठौरले नयाँ दलहरूले चर्का अभिव्यक्ति दिँदै लोकप्रियतामात्र खोजिरहेको आरोप लगाउँदै भने, “दश वर्ष पार्टी व्यवस्थित रूपमा चलाएर देखाउनुस्, त्यसपछि बहस गरौँला। पाँच वर्ष पनि टिक्न सकेका छैनन्।”

उनले युक्रेनको उदाहरण उल्लेख गर्दै लोकप्रियताको भरमा नेतृत्व चयन गर्दा देशले गम्भीर मूल्य चुकाउनुपर्ने अवस्था आउने चेतावनी दिए। नेपालमा पनि गैरजिम्मेवार शक्तिलाई नेतृत्व सुम्पिए यस्तै परिणाम भोग्नुपर्ने उनको तर्क थियो। काँग्रेसको १४औँ महाधिवेशनमा पराजित समूहप्रति संकेत गर्दै राठौरले हार स्वीकार गर्न नसकेर कराइरहनु आवश्यक नरहेको बताए। साथै, फागुन २१ गते निर्वाचन हुन नसके मुलुक गम्भीर संकटतर्फ जान सक्ने चेतावनीसमेत दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *