देश

राष्ट्रियसभा अधिवेशन अविलम्ब बोलाउन काँग्रेसको माग, अध्यक्ष दाहालसँग भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभाको अधिवेशन अविलम्ब आह्वान गर्न माग गर्दै राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग भेटवार्ता गरेको छ।

नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर रोकायको नेतृत्वमा गएको टोलीले अध्यक्ष दाहाललाई भेट गरी कांग्रेस संसदीय दलको निर्णयबारे जानकारी गराउँदै तत्काल अधिवेशन बोलाउन पहल गर्न आग्रह गरेको हो।

कांग्रेस संसदीय दलले गत पुस १० गते बसेको बैठकबाट देशमा विकसित राजनीतिक विषम परिस्थितिका कारण असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन भएको अवस्थामा संघीय संसदअन्तर्गत राष्ट्रिय सभा मात्र कायम रहेकाले जनताका आवाज उठाउन राष्ट्रियसभाको बैठक आवश्यक रहेको निष्कर्ष निकालेको थियो। सोही निर्णयअनुसार अधिवेशन आह्वानका लागि सम्बन्धित निकायसँग पहल गर्न अध्यक्ष दाहाललाई अनुरोध गरिएको हो।

भेटवार्तामा राष्ट्रियसभा सदस्यहरू कमलादेवी पन्त, किरणबाबु श्रेष्ठ, विष्णु सापकोटा र पदम परियारलगायतको सहभागिता रहेको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *