काठमाडौं । देशमा सर्वदलीय सरकार गठनको बहस चर्किँदै गएको बेला परम्परागत राजनीतिक दलसँगै वैकल्पिक र स्वतन्त्र धारका पात्रहरू पनि पुनः सक्रिय देखिन थालेका छन्। यही क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बीचको निकटता र सहमतिले नेपाली राजनीतिमा नयाँ तरंग र विवाद समेत ल्याएको छ। रवि र बालेनको मिलनपछि एक थरीले सत्ताका लागि सहकार्य गर्नु समाजका लागि विकृति हुने तर्क गरेका छन्,भने अर्को थरीले नेपालको राजनीतिक भविष्यलाई उज्जवल बनाउन लागि परेको तर्क गरेका छन् ।
हालै सार्वजनिक भएको सातबुँदे सहमतिपछि रवि र बालेन एउटै राजनीतिक धारमा उभिने मात्र होइन, आगामी प्रतिनिधिसभा निर्वाचनमा चुनावी सहकार्य गर्ने निर्णयमा पुगेका छन्। सहमतिअनुसार रास्वपाकै चुनाव चिह्न, नीति र कार्यक्रम रहनेछ भने बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार बन्ने उल्लेख छ। यसले वैकल्पिक राजनीतिका नाममा उदाएका यी दुई पात्र अब औपचारिक रूपमा सत्ताकेन्द्रित राजनीतिक खेलमा प्रवेश गरेको संकेत दिएको विश्लेषकहरू बताउँछन्।
नेपाली राजनीतिमा बाह्य चुनौती बढ्दै गएको संकेत एमाले नेताहरूले गरेका छन्। उपमहासचिव योगेश भट्टराईका अनुसार चुनौतीबाट भाग्ने होइन, एकताबद्ध भएर सामना गर्ने बेला आएको छ। आन्तरिक एकता, आत्मालोचना र कार्यशैली सुधार नगरी राजनीति अघि बढ्न नसक्ने उनको भनाइ छ। उता एमाले सचिव महेश बस्नेतले समस्या दलको अस्तित्वमा होइन, विकृतिमा रहेको बताए। नयाँ अनुहार बेचेर आशा जगाउने अभ्यासले दीर्घकालीन समाधान नदिने भन्दै उनले व्यक्तिवादी राजनीति र पपुलिज्मप्रति कटाक्ष गरे। यसैबीच महासचिव शंकर पोखरेलले रवि–बालेन सहमतालाई देशलाई अस्थिरतातर्फ धकेल्ने षड्यन्त्रको निरन्तरता भनेका छन्।
संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सचेत र जिम्मेवार शक्तिहरू एकजुट हुनुपर्ने उनको आग्रह छ। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले भने रवि–बालेन मिलेर चुनाव लडे पनि जनमत उनीहरूतर्फ नफर्कने दाबी गरेका छन्। नेकपा माओवादी केन्द्रका नेता अग्नि सापकोटाले पनि यस सहमतिले पुराना दललाई खासै फरक नपर्ने प्रतिक्रिया दिएका छन्। राजनीतिक विश्लेषक केशव दाहालका अनुसार रवि–बालेन मिलनले आगामी वर्षहरूमा ‘पपुलिज्म’ अर्थात् भावनात्मक र सतही राजनीतिलाई बढावा दिने खतरा छ। उनले यसलाई ‘जङ्क पोलिटिक्स’ को संज्ञा दिँदै यदि यी नेताहरूले एजेन्डा, नीति र जिम्मेवारीमा परिपक्वता देखाउन नसके नेपालको राजनीति अझै कम्तीमा एक दशक अस्थिर रहने चेतावनी दिएका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार सर्वदलीय सरकार गठनको बहस, जेन–जी आन्दोलनपछि सिर्जित असन्तुष्टि र परम्परागत दलप्रतिको आक्रोशले रवि–बालेन मिलनको वातावरण तयार गरेको हो। दुवै पात्र पछिल्ला महिनामा आन्दोलन, कानुनी विवाद र विवादास्पद अभिव्यक्तिका कारण निरन्तर चर्चामा रहँदै आएका छन्। भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनले देशभर ठूलो मानवीय र भौतिक क्षति पुर्याएको थियो। सरकारी तथ्यांकअनुसार उक्त घटनामा ७६ जनाको ज्यान गएको र ८४ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान छ। आन्दोलनसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका पात्रहरूको भूमिकाबारे अझै स्पष्ट निष्कर्ष ननिस्कँदै गर्दा रवि–बालेनको सहकार्यलाई लिएर प्रश्न उठ्न थालेका छन्।
रवि लामिछाने सहकारी ठगी, नागरिकता तथा पासपोर्ट विवाद, शालिग्राम पुडासैँनी आत्महत्या प्रकरणलगायत विभिन्न विवादमा जोडिएका पात्र हुन्। अदालतले उनीमाथि करोडौँको बिगो धरौटीमा मुद्दा लड्न अनुमति दिएको छ भने उनलाई रिहा गराउने आदेश दिने न्यायाधीशविरुद्ध समेत रिट परेको अवस्था छ। काठमाडौँ महानगरका मेयर बालेन शाह पनि जेन–जी आन्दोलन उक्साएको आरोप खेपिरहेका छन्। सोही आन्दोलनका क्रममा नख्खु कारागारबाट कैदीबन्दी फरार भएको घटनासँग उनको नाम जोडिँदै आएको छ। विभिन्न राजनीतिक दल र संघसंस्थाले उनीमाथि अनुसन्धान र कानुनी कारबाहीको माग गरे पनि अहिलेसम्म औपचारिक अनुसन्धान अघि बढ्न सकेको छैन। राष्ट्रिय मानवअधिकार आयोगले भने बालेनसँग बयान लिइसकेको छ।
रवि र बालेनको सहकार्यलाई कतिपयले सम्भावित कानुनी तथा राजनीतिक दबाबबाट जोगिने साझा रणनीतिका रूपमा समेत व्याख्या गरेका छन्। रवि–बालेन सहमति सार्वजनिक भएसँगै प्रमूख राजनीतिक दलहरूबाट तीव्र प्रतिक्रियाहरु सार्वजनिक भएका छन्। नेकपा एमालेका महासचिव शंकर पोखरेलले यसलाई “नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको दोस्रो चरण” भन्दै गम्भीर आरोप लगाएका छन्। एमाले उपमहासचिव योगेश भट्टराईले यसलाई बाह्य चुनौतीको संज्ञा दिँदै पुराना दलहरू अझ एकताबद्ध हुनुपर्ने बताएका छन्।
यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रवि–बालेन सहमतिप्रति तीव्र आलोचना गरेका छन्। उनले उक्त सहमति सत्ताकै लागि गरिएको र विदेशी हस्तक्षेपलाई संस्थागत गर्ने उद्देश्य बोकेको दाबी गरेका छन्। फेसबुकमार्फत भिडियो सन्देश सार्वजनिक गर्दै साम्पाङले “कुर्सीका लागि देश लिलाम गर्ने प्रयास” भएको टिप्पणी गरे। विदेशी प्रभाव नेपालमा प्रत्यक्ष देखिन थालिसकेको र त्यसलाई औपचारिक बनाउने खेल भइरहेको उनको आरोप छ। रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहको नाम नलिई उनले जेनजी आन्दोलनका बेला निष्क्रिय बसेको आरोपसमेत लगाए। बालेनलाई लक्षित गर्दै उनले ‘भित्रै बसेर डर लाग्दो खेल खेल्ने’ र ‘लुकेर बस्ने’ व्यक्ति भनेर आलोचना गरेका छन्। यसैगरी एमसीसी सन्दर्भ जोड्दै साम्पाङले रवितर्फ संकेत गर्दै कटाक्ष गरेका छन्।
एकातिर देश स्थिरता, सुशासन र जवाफदेहिताको अपेक्षामा छ भने अर्कोतिर विवादित पृष्ठभूमिका पात्रहरूको सक्रियताले राजनीति फेरि उथलपुथलतर्फ जाने हो कि भन्ने चिन्ता बढ्दै गएको छ। रवि–बालेन मिलनले उठाएको मूल प्रश्न यही हो—यो साँच्चिकै सुधार र विकल्पको संकेत हो, कि अस्थिर राजनीतिमा अर्को अध्यायको सुरुवात मात्र?
रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएका विवादित व्यक्ति हुन , रविमाथि सहकारी ठगी प्रकरण,शालिग्राम पुडासैँनी आत्माहत्या प्रकरण,नागरिकता र पासपोर्ट विवाद,बहुविवाह विवाद जस्ता विवाद जोडिएका छन् । तर नेता तथा कार्यकर्ताहरु र नागरिक समाज किन उनैसँग बढी जोडिरहेका छन् ? यस्तै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन० गत भदौ २३ र २४ गतेको जेन(जी) आन्दोलन उक्साउने र अन्तरिम सरकार गठन प्रक्रियामा संलग्न छन् ।
सो आन्दोलनमा नख्खु कारागारबाट रवि लामिछाने समेत प्रधानमन्त्री बन्ने दाउमा बाहिरिएका थिए । सोही अवसरमा सयौँ केदीबन्दी समेत भागेका थिए । अहिलेसम्म सो जेलबाट फरार रहेका कैदिबन्दीहरु फिर्ता भएका छैनन् । प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सो आन्दोलनमा जोडिएपछि बालेनमाथि पनि अनुसन्धान र कानुनी कारबाही गर्न नेकपा एमाले पार्टी,नेविसंघ तरुणदल लगायत विभिन्न संघसंस्था र नेताहरुले सरकारसमक्ष माग गरे । तर आफ्नै कानुनी सल्लाहकार ओमप्रकाश अर्याल गृहमन्त्री भएका कारण बालेनमाथि अनुसन्धान हुन सकेको छैन् । राष्ट्रिय मानवअधिकार आयोगले भने बालेनमाथि दुई घण्टा लामो बयान लिइसकेको छ । यस्तै चाररपाँच सहकारी कम्पनीको करोडौँको रुपैँया हिनामिना गरेका रविलाई भने अदालतले दुई करोडमाथि बिगो धरौटी तिराएर बाहिरै बसेर मुद्धा लड्न मौका दियो । अहिले लामिछानेलाई कारागारबाट रिहा हुन आदेश दिने न्यायाधिसहरुमाथि नै रिट दायर भएको छ ।




