काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)बीच देखिएको सहमति राजनीतिमा कुनै अनौठो विषय नभएको बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपसभापति गुरुङले रास्वपा सभापति रवि लामिछाने र साहबीचको सहकार्यलाई स्वाभाविक राजनीतिक प्रक्रिया भएको बताए। उनले राजनीतिमा मिल्ने र छुट्टिने क्रम निरन्तर चलिरहने भएकाले यसलाई विशेष चासोका रूपमा लिनुपर्ने आवश्यकता नभएको स्पष्ट पारे।
उनले भने, “राजनीतिमा को को जुट्छन्, को को फुट्छन् भन्ने कुरा भइरहन्छ। यसलाई अनौठो मान्नुपर्ने कुनै कारण छैन। काँग्रेसले यसलाई गम्भीर विषयका रूपमा लिएको छैन।”
उपसभापति गुरुङले राजनीति सरल मार्गबाट अघि नबढ्ने उल्लेख गर्दै हरेक चरणमा चुनौती आउने बताए। काँग्रेसले राणाकाल, पञ्चायती व्यवस्था जस्ता कठिन राजनीतिक चुनौतीहरू पार गरिसकेको स्मरण गराउँदै वर्तमान राजनीतिक घटनाक्रम काँग्रेसका लागि नयाँ चुनौती नभएको धारणा राखे।
“राजनीति आफैँमा चुनौती हो। हरेक चुनौतीको सामना गर्दै आएको काँग्रेस अहिले कसले कससँग सहमति गर्छ भन्ने कुरामा विचलित हुँदैन,” उनले थपे।




