राजनीति

निर्वाचनबारे शीर्ष नेताको मिश्रित धारणा : शान्ति सुरक्षा र निर्वाचनको वातावरणमाथि प्रश्न

काठमाडौं। सरकारका प्रवक्ता तथा सूचना, सञ्चार एवं प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार देशका तीन प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्। उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रत्यक्ष संवाद गरेका हुन्।

खरेल तीनै नेताहरूलाई भेट्न उनीहरूकै निवास पुगेका थिए। भेटका क्रममा आगामी निर्वाचनका लागि आवश्यक राजनीतिक वातावरण निर्माणबारे छलफल केन्द्रित रहेको उनले जानकारी दिए। कांग्रेस सभापति देउवासँगको भेटमा चुनाव नै पार्टीको मुख्य प्राथमिकता रहेको स्पष्ट सन्देश आएको खरेलले बताए। उनका अनुसार देउवाले संसद् पुनर्स्थापनाभन्दा निर्वाचन सम्पन्न गर्नु नै कांग्रेसको प्राथमिकता भएको धारणा राख्दै समयमै चुनाव गराउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

एमाले अध्यक्ष ओलीले भने निर्वाचन सुरक्षाको विषयलाई प्रमुख रूपमा उठाएका छन्। निष्पक्ष र निर्भय वातावरणमा चुनाव हुनुपर्ने उल्लेख गर्दै त्यसका लागि सरकारले थप तयारी गर्नुपर्ने सुझाव दिएको खरेलले बताए। जनमतलाई नै अन्तिम आधार मान्ने पार्टी भएकाले एमाले निर्वाचनमार्फत् ‘फ्रेस म्यान्डेट’ लिएर अघि बढ्न तयार रहेको ओलीको भनाइ रहेको छ। त्यसैगरी, नेकपाका संयोजक प्रचण्डले पनि निर्वाचनको कुनै विकल्प नरहेको स्पष्ट पार्दै फागुन २१ गते नै चुनाव हुनुपर्नेमा जोड दिएका छन्। उनले निर्वाचन प्रक्रिया सफल बनाउन सरकारलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन्।

प्रवक्ता खरेलका अनुसार प्रधानमन्त्री सुशीला कार्कीले समेत राजनीतिक संवादलाई तीव्र बनाउँदै सबै दल र नेताहरूसँग निरन्तर छलफल गरिरहेकी छन्। सरकारले तोकिएको मितिमै निर्वाचन गराउने विषयमा दृढ रहेको सन्देश तीनै नेतासँगको भेटवार्ताबाट स्पष्ट भएको खरेलले बताएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *