काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ललितपुरको ज्वागलस्थित कुमार बेनको निवासबाट करिब १२ घण्टापछि बाहिरिएका छन्। वैकल्पिक राजनीतिक शक्तिहरूसँग लगातार छलफलमा जुटेका बालेन आज बिहान साढे ७ बजेदेखि नै ज्वागल पुगेका थिए भने बुधबार राति मात्रै त्यहाँबाट फर्किएका थिए।
ज्वागल बसाइँका क्रममा बालेनले एकै दिनमा २५ भन्दा बढी राजनीतिक, सामाजिक तथा नागरिक अभियन्तासँग भेटवार्ता गरेका थिए। आज बिहानदेखि उनले उज्यालो पार्टीका संरक्षक तथा ऊर्जामन्त्री कुलमान घिसिङ, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जेन–जी अभियन्ताहरू र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसँग समेत छलफल गरेका थिए।
बालेन ज्वागलबाट बाहिरिएपछि पनि उक्त निवासमा भने कलाकार र केही जेन–जी अभियन्ताहरूको उपस्थिति कायमै रहेको बताइएको छ। बालेन निकट स्रोतका अनुसार कुलमान घिसिङ र रवि लामिछानेसँग थप छलफल गर्ने तयारी भए पनि त्यसको समय र स्थान अझै तय भइसकेको छैन। “भोलि महानगरको नगरसभा पनि छ, हिजो पनि ढिलोसम्म बस्नुभयो, अब फेरि कहिले बैठक हुन्छ भन्ने निश्चित छैन,” स्रोतले भन्यो।
यसअघि ज्वागलमै भएको रवि–बालेन छलफलको मुख्य एजेन्डा आगामी निर्वाचनपछि बन्न सक्ने सरकार र त्यसको नेतृत्व कसले गर्ने भन्ने विषयमा केन्द्रित रहेको बताइएको छ। एकता, सहकार्य, चुनाव चिह्न, पार्टी नाम र उम्मेदवारको अनुपातजस्ता विषयमा छलफल भए पनि निर्णायक सहमति भने भइसकेको छैन।
बालेनले विभिन्न भेटमा ‘नयाँ र वैकल्पिक शक्तिहरू एक ठाउँमा आउनैपर्छ’ भन्ने धारणा दोहोर्याउँदै आएका छन्। जेन–जी प्रतिनिधिसँगको छलफलमा पनि उनले पहिले आपसमा एकजुट हुन आग्रह गरेका थिए। “एकता त्यहीँबाट सुरु हुन्छ,” बालेनको भनाइ उद्धृत गर्दै अभियन्ताहरूले बताएका छन्।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसँगको करिब एक घण्टा लामो भेटमा पनि नयाँ र वैकल्पिक शक्तिहरू मिल्नुपर्ने विषय उठेको थियो। भट्टराईले बालेनको पहललाई सकारात्मक रूपमा लिएको प्रतिक्रिया दिएका छन्।
राजनीतिक वृत्तमा ज्वागललाई पछिल्लो समय वैकल्पिक शक्तिहरूको ‘संवाद केन्द्र’ का रूपमा हेरिन थालेको छ। बालेनको सक्रियता, निरन्तर भेटघाट र खुला सन्देशले आगामी चुनावअघि नयाँ राजनीतिक समीकरण बन्ने संकेत देखिए पनि त्यसको ठोस रूप भने अझै स्पष्ट भइसकेको छैन।




