देश

क्रियाशील सदस्यता संकटले कांग्रेसको १५औँ महाधिवेशन अनिश्चित, तोकिएको समयमै नहुने स्पष्ट

पार्टीका जिम्मेवार पदाधिकारीले गहन र गम्भीर भएर आफ्ना धारणा राख्नुपर्नेमा जाेड

काठमाडौँ । नेपाली कांग्रेसले तोकिएको समयमै पार्टीको १५औँ महाधिवेशन हुन नसक्ने स्पष्ट पारेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले हालको अवस्थामा महाधिवेशन तोकिएको समयमै गर्न सकिने आधार नरहेको निष्कर्ष निकालेको हो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले महाधिवेशनका सन्दर्भमा सबैभन्दा ठूलो चुनौती सक्रिय सदस्यता टुंग्याउनु रहेको बताए। उनका अनुसार सक्रिय सदस्यता व्यवस्थापन समितिको संयोजक स्वयं महामन्त्री गगनकुमार थापा रहेका छन्।

प्रवक्ता महतले जिल्ला–जिल्लामा परिपत्र गरिएका सक्रिय सदस्यता फारममा क्रमसंख्या नभएकाले ती फारम पुनः पठाउनुपर्ने अवस्था सिर्जना भएको जानकारी दिए। कतिपय जिल्लामा समयमै फारम भरेर बुझाउन नसकिएको र फारम भरेपछि अनिवार्य रूपमा प्रणालीमा इन्ट्री गर्नुपर्ने प्रक्रिया पनि सहज नरहेको उनले बताए।

“विधिसम्मत ढङ्गले काम गर्नुपर्ने भएकाले जिल्ला तहका कार्यकर्ताले सकेको प्रयास गर्दा पनि सक्रिय सदस्यता टुंग्याउन कठिनाइ भइरहेको छ,” महतले भने, “सबैको तदारुकता र क्रियाशीलता हुँदाहुँदै पनि तोकिएको समयमा महाधिवेशन गर्न सम्भव देखिएको छैन।”

उनले पार्टीका जिम्मेवार पदाधिकारीहरूले यस विषयमा गम्भीर र जिम्मेवार भएर धारणा राख्नुपर्ने आवश्यकता पनि औँल्याए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *