देश

बालेन–रवि भेट प्रधानमन्त्रीको आकांक्षा कि वैकल्पिक मोर्चाको अभ्यास ?

काठमाडौं । पछिल्लो समय प्रधानमन्त्रीको विषयसँग जोडेर चर्चामा आएका दुई विवादित राजनीतिक पात्र—काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने—फेरि एकपटक राजनीतिक बहसको केन्द्रमा आएका छन्। समर्थकको ठूलो घेरा र सामाजिक सञ्जालमा प्रभावशाली उपस्थिति भएका यी नेताहरूलाई जेन–जी आन्दोलनलाई उक्साएको आरोप लाग्दै आएको छ। लामिछानेमाथि त सहकारी ठगी प्रकरणदेखि थुप्रै विवाद छन् ।

बिहीबार ललितपुरको ज्वागलस्थित बालेनका सहयोगी कुमार बेनको निवासमा बालेन र रविबीच आगामी निर्वाचनलाई लक्षित गर्दै गोप्य छलफल भएको हो। दुई नेताबीच वान–टु–वान वार्ता चलिरहँदा पूर्व स्वतन्त्र सांसद अमरेश कुमार सिंह समेत छलफलस्थलमा पुगेका थिए। स्रोतका अनुसार नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिहरूलाई एउटै मोर्चामा ल्याउने सम्भावनाबारे छलफल केन्द्रित थियो।

छलफल भित्र सीमित रहँदा बाहिरको गतिविधि भने असामान्य बन्यो। जेन–जी अभियन्ता सुदन गुरुङले दुई नेतामाथि एकजुट हुन दबाब दिन भन्दै घरको मुख्य गेटमा ताला लगाइदिएका थिए। सामाजिक सञ्जालमा भाइरल भिडियोमा गुरुङले सहमति नजुटेसम्म गेट नखुल्ने अडान लिँदै आफूहरू ‘अस्थायी गार्ड’ बनेर बसेको बताएका थिए । चाबी आफूहरूसँग सुरक्षित रहेको र कुनै पनि अवस्थामा ताला नखोलिने उनको दाबी थियो ।

यसैबीच बालेन र रविको भेटसँगै सर्वदलीय सरकार गठन र संसद् पुनर्स्थापनाको विषयमा समेत छलफल भएको स्रोतले जनाएको छ। नेपाली कांग्रेसका नेता सुनिल शर्माले रास्वपा सभापति रवि लामिछाने र मेयर बालेन शाहसहितको भेटपछि सञ्चारकर्मीहरूसँग संसद् पुनर्स्थापनाबारे कुराकानी भएको पुष्टि गरेका छन्।

भित्र राजनीतिक समीकरणको सम्भावना केलाइँदै गर्दा बाहिर समर्थक, स्थानीय र शुभेच्छुकहरूको भिड बढ्दै गएको थियो। यसअघि पनि कमलपोखरीमा बालेन र रविबीच लामो छलफल भइसकेको थियो, जसलाई वैकल्पिक राजनीतिक सहकार्यको संकेतका रूपमा हेरिएको थियो।

छलफलपछि प्रतिक्रिया दिँदै रवि लामिछानेले बालेनसँगको वार्ता सकारात्मक रहेको बताएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नयाँ शक्तिहरूलाई एक ठाउँमा ल्याउने प्रयासस्वरूप वार्ता भएको उनको भनाइ छ। उक्त छलफलमा जेन–जी अभियन्ता सुदन गुरुङ, रक्षा बम, पुरुषोत्तम यादव, उज्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङ, निवर्तमान सांसद अमरेश कुमार सिंह तथा नेता सुनिल शर्मा लगायतको उपस्थिति रहेको उनले जानकारी दिए।

यो भेटघाटले वैकल्पिक राजनीतिको अभ्यास हो कि प्रधानमन्त्रीको आकांक्षासँग जोडिएको रणनीति—भन्ने प्रश्नलाई भने अझै खुला नै छोडेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *