देश

नयाँ राजनीतिक शक्ति निर्माणतर्फ बालेनको कदम, ३० भन्दा बढी प्रभावशाली व्यक्तिसँग गोप्य परामर्श

काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले राष्ट्रिय राजनीतिमा नयाँ शक्तिको उदय गराउने उद्देश्यसहित राजनीतिक गतिविधि तीव्र पारेका छन्। नयाँ दल गठनको आन्तरिक तयारीमा जुटेका शाहले बुधबार ललितपुरमा विभिन्न क्षेत्रका ३० भन्दा बढी प्रभावशाली व्यक्तिहरूसँग सामूहिक तथा व्यक्तिगत छलफल गरेका छन्।

आफ्ना निकट सहयोगी कुमार बेनको ललितपुरस्थित निवासमा दिनभर चलेको गोप्य परामर्शमा चिकित्सक, राजनीतिज्ञ, पूर्वप्रशासक, कलाकार तथा सञ्चार क्षेत्रका व्यक्तिहरू सहभागी थिए। छलफलमा वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइराला, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, पूर्वसचिव भीम उपाध्याय, विवेकशील साझाका पूर्वउपाध्यक्ष मिलन पाण्डे, अभियन्ता सागर ढकाल, रक्षा बम र केपी खनाल सहभागी थिए।

यस्तै, महानगरका राजनीतिक सल्लाहकार सुनिल लम्सालको उपस्थितिमा कलाकार निश्चल बस्नेत, कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहिया, सञ्चारकर्मी सुरजसिंह ठकुरी र ऋषि धमलासँग पनि शाहले आगामी राजनीतिक यात्राबारे सुझाव लिएका थिए।

बैठकमा सहभागी स्रोतका अनुसार बालेन आगामी निर्वाचनलाई केन्द्रमा राखेर नयाँ राजनीतिक शक्ति निर्माणको तयारीमा छन्। ‘भेटघाटको प्रकृति हेर्दा उहाँ निर्वाचनमा जाने स्पष्ट संकेत देखिन्छ,’ एक सहभागीले भने, ‘सम्भावित टिम र सहकार्यका विकल्पबारे राय लिइएको थियो।’

छलफलका क्रममा बालेनले सहभागीहरूसँग ‘नयाँ पार्टी घोषणा गरेपछि साथ र समर्थन रहने–नरहने’बारे प्रत्यक्ष प्रश्न गरेका थिए। अधिकांशले सकारात्मक प्रतिक्रिया दिएको स्रोतले जनाएको छ।

‘लौरो’ चुनाव चिह्नसहित ‘देश विकास पार्टी’

बालेनको सचिवालयले यसअघि नै ‘देश विकास पार्टी’ निर्वाचन आयोगमा दर्ता गराइसकेको खुलेको छ। अनन्तराज घिमिरेको नाममा दर्ता रहेको उक्त पार्टी हाल बालेन निकटस्थहरूको व्यवस्थापनमा छ। पार्टीको चुनाव चिह्न ‘लौरो’ रहेको छ, जुन स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव जित्दा बालेनले प्रयोग गरेका थिए। सोही चिह्नलाई पार्टीगत पहिचान दिने तयारीमा बालेन छन्।

परामर्शमा बालेनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सोमबार भएको करिब सात घण्टा लामो भेटवार्ताबारे पनि जानकारी गराएका थिए। लामिछानेले प्रधानमन्त्रीको उम्मेदवार बन्न प्रस्ताव गरेको चर्चा भए पनि बालेनले कुनै ठोस सहमति नभएको बताएका छन्। ‘सहकार्यको प्रस्ताव आयो, तर स्पष्ट खाका आएन,’ बालेनको भनाइ उद्धृत गर्दै एक सहभागीले भने।

उता रास्वपा सभापति लामिछानेले पनि बालेनसँगको संवाद प्रारम्भिक चरणमै रहेको र अन्य राजनीतिक शक्तिसँग समेत छलफल भइरहेको बताएका छन्। काठमाडौंका मेयरका रूपमा स्थापित बालेनको पछिल्लो सक्रियताले नेपाली राजनीतिमा नयाँ समीकरणको सम्भावना थप बलियो बनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *