काठमाडौं । नेपाली कांग्रेसभित्र आगामी निर्वाचनलाई लक्षित गर्दै अधिवेशनको ढाँचा र समयतालिकाबारे नयाँ बहस सुरु भएको छ । पार्टीको कार्यसम्पादन समिति बैठकमा महामन्त्री गगन थापाले प्रतिनिधिसभा निर्वाचनअघि तीन तहमा मात्र अधिवेशन सम्पन्न गरेर चुनावी प्रक्रियामा जाने प्रस्ताव अघि सारेका छन् ।
बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा महामन्त्री थापाले वडा तह, प्रतिनिधिसभा क्षेत्र तह र केन्द्रीय महाधिवेशन गरी निर्वाचनमा केन्द्रित हुनुपर्ने सुझाव राखेको जानकारी प्रवक्ता डा। प्रकाशशरण महतले दिए । उनका अनुसार थापाले तोकिएको निर्वाचन मिति अगाडि संगठनलाई चुस्त राख्न सीमित तर प्रभावकारी अधिवेशन उपयुक्त हुने तर्क प्रस्तुत गरेका थिए ।
तर उक्त प्रस्तावप्रति बैठकमा सहभागी अन्य नेताहरूले भने सावधानी अपनाउनुपर्ने धारणा राखे । विगतमा पर्याप्त तयारीबिनै गरिएका निर्णय कार्यान्वयनमै अल्झिएको उल्लेख गर्दै उनीहरूले व्यवहारिक रूपमा सम्भव हुने गरी मात्रै कार्यतालिका परिमार्जन गर्नुपर्नेमा जोड दिएका थिए ।
बैठकमा अधिवेशन र निर्वाचनको तालमेल कसरी मिलाउने भन्ने विषयमा थप छलफल आवश्यक रहेको निष्कर्ष निकालिएको प्रवक्ता महतले बताए । कांग्रेसभित्र अब अधिवेशनको संरचना र समयबारे गम्भीर गृहकार्यपछि मात्रै ठोस निर्णय हुने संकेत देखिएको छ ।




