काठमाडौं । नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवाको भूमिकालाई लिएर बहस चर्किरहेका बेला पार्टी गतिविधिले भने एउटा सन्देश स्पष्ट संकेत गरिरहेको छ । कांग्रेसलाई सशक्त राख्न सभापति देउवाकै नेतृत्व आवश्यक देखिन्छ । देशको विषम परिस्थितिमा सभापति देउवाले औपचारिक रूपमा कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिए । पार्टीभित्रको विवाद अन्त्य र पार्टीलाई थप शिखरमा पु¥याउन निर्णायक भूमिका नै सभापति देउवाको देखिन्छ । का.वा सभापति पूर्णबहादुर खड्काले राजनीतिक दिशा र रणनीतिलाई दिशा निर्धारण गर्न नसकेपछि सभापति देउवा सक्रिय रुपमा अघि बढेका छन् ।
असोज २८ गते बसेको केन्द्रीय समिति बैठकमा सभापति देउवाले १३ पृष्ठ लामो भावुक सन्देश वाचन गर्दै खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए। सम्बोधनको अन्तिम वाक्यसँगै हल तालीले गुञ्जियो र बैठक टुंगियो। सोही दिन विशेष महाधिवेशनको प्रस्ताव दर्ता गराउने तयारीमा रहेका नेताहरू सक्रिय थिए भने महामन्त्री गगन थापाले सभापतिको सम्बोधनलाई ‘सम्मानयोग्य’ भन्दै संयम अपनाउन आग्रह गरेका थिए।
त्यसपछि का.वा सभापतिको जिम्मेवारी खड्कालाई दिएर सिंगापुर उपचारमा गएका थिए । देउवाले खड्कालाई निर्धारित मितिमा नै कांग्रेसको १५ औँं महाधिवेशन निर्देशन दिएका थिए । तर सभापति सिंगापुर गएको मौका छोपेर कांग्रेसभित्र व्यक्तिवादी धारणा बढ्दा पार्टीले महाधिवेशनको विषय चर्को आलोचना भोग्नु प¥यो । महाधिवेशनको विषयलाई लिएर पार्टीभित्र भएको विवादले पार्टी बिभाजनको दिशातर्फ उन्मुख भएपछि सभापति सिंगापुरबाट स्वास्थ्य उपचार गराएर नेपाल फर्के । त्यसपछि केन्द्रिय समिति बैठक बोलाएर पौषको अन्तिम साता महाधिवेशन गर्ने सहमति जुटाए । तर पार्टीको क्रियासिल सदस्यता विवादका कारण अहिले महामन्त्री थापाहरुका कारण नै महाधिवेशन केही समयपछि सर्न सक्ने आंकलन भइसकेको छ । लगभग साँढे चार लाख क्रियासिल सदस्यता वितरण गर्ने क्रममा सिरियल नम्बर नै नभएका फर्मका प्रतिलिपीहरु पठाएपछि सो विषयले विवाद झन लम्ब्याएको थियो । सो विषय सभापति देउवाले नयाँ सदस्यता वितरण फर्म पठाउन निर्देशन दिएपछि महामन्त्री थापाले सो विषयलाई फलो गर्न थालेका छन् ।
करिब ७० दिनपछि देउवा पुनः सभापतिकै हैसियतमा सक्रिय भएका छन् । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा शीतल निवासमा आयोजित शीर्ष नेताहरूको बैठकमा पनि सभापति देउवा शीर्ष तीन नेताहरुसँग पुगेका थिए । उनको उपस्थितिले देउवा केन्द्रमा रहेको संकेत दियो। कांग्रेस वृत्तमा यसलाई देउवाको ‘सावधानीपूर्वक पुनरागमन’का रूपमा हेरिएको छ।कार्यवाहक सभापति खड्काले ४९ दिन लामो केन्द्रीय समिति बैठकको नेतृत्व गरे पनि देउवा उपचारबाट फर्किएर सक्रिय नहुँदासम्म बैठक निष्कर्षविहीन रह्यो। मंसिर ६ गते दल दर्तासम्बन्धी निर्णयमा उम्मेदवार आधिकारिकतामा सभापति देउवाकै हस्ताक्षर अनिवार्य हुने व्यवस्था र मंसिर १५ को निर्णयमा क्रियाशील सदस्यताको अन्तिम सूची सभापति वा कार्यवाहक सभापतिले बुझ्ने उल्लेख हुनु देउवाको सक्रियताको संकेत मानिएको छ।
औपचारिक रूपमा सानेपास्थित पार्टी कार्यालय नपुगे पनि महाराजगञ्जस्थित देउवाको निवास राजनीतिक गतिविधिको केन्द्र बनेको छ। दैनिक नेता–कार्यकर्ता भेटघाट मात्र होइन, अन्तरपार्टी संवादसमेत देउवाले नै गरिरहेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नियमित भेटघाट, लोसपा अध्यक्ष महन्थ ठाकुरसँग संवाद र राष्ट्रियसभा निर्वाचनमा एमालेसँग सहकार्य गर्ने निर्णय देउवाकै अग्रसरतामा अघि बढेको देखिन्छ।
विशेष महाधिवेशनको विपक्षमा उभिएका देउवाले नियमित महाधिवेशनको कार्यतालिका ल्याएर विवाद मत्थर पार्ने रणनीति अपनाएका छन्। पुस २६ मा महाधिवेशन गर्ने सहमतिले विशेष महाधिवेशनको प्रस्ताव कमजोर बनेको कांग्रेसभित्रकै विश्लेषण छ। हालै देउवाले कार्यवाहक सभापति खड्का, उपसभापति धनराज गुरुङ र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्मासँग छलफल गर्दै पार्टीको भावी योजना सुनाएका थिए। सोही छलफलका आधारमा कार्यसम्पादन समिति बैठक बस्न लागेको छ, जहाँ महाधिवेशन कार्यतालिका संशोधन र राष्ट्रियसभा निर्वाचनमा एमालेसँगको गठबन्धन औपचारिक निर्णयमा लैजाने तयारी छ।
देउवानिकट नेताहरूका अनुसार ‘कार्यवाहक’को अर्थ देउवा अनुपस्थित हुँदा बैठक सञ्चालन गर्नु मात्र हो। “नीति, रणनीति र राजनीतिक निर्णय शेरबहादुर दाइले नै गर्नुहुन्छ,” एक पदाधिकारीको भनाइ छ। देउवाका सहयोगी भानु देउवाले सभापतिको सक्रियतालाई स्वाभाविक बताउँदै भेटघाटलाई असामान्य रूपमा लिन नहुने प्रतिक्रिया दिएका छन्। स्वयं देउवाले भने तत्कालै कार्यवाहक फिर्ता लिने वा औपचारिक रूपमा जिम्मेवारी सम्हाल्ने तयारी नरहेको बताएका छन्। यसैबीच, देउवा–ओली सहकार्य थप सुदृढ बन्दै गएको देखिन्छ। सातबुँदे सहमतिपछि दुवै नेताबीच निरन्तर संवाद, राष्ट्रियसभा निर्वाचनदेखि संसद पुनःस्थापनासम्म सहकार्य गर्ने समझदारी र ‘जेन–जी आन्दोलन’पछिको राजनीतिक बाटोबारे समान धारणा देखिनुले आगामी दिनमा कांग्रेस–एमाले गठजोड अझ प्रभावशाली बन्ने संकेत दिएको छ। कांग्रेसभित्र बढ्दो राजनीतिक जटिलताबीच एउटा कुरा भने स्पष्ट देखिन्छ—औपचारिक जिम्मेवारी जे सुकै भए पनि पार्टीलाई दिशा दिने केन्द्रमा अझै शेरबहादुर देउवा नै छन्।
कांग्रेसभित्र देखिएको समस्या हल गर्न पार्टी सभापति देउवा अगाडी बढेपछि महामन्त्री गगन थापा देउवालाई खुइल्याउने लाइनमा पुनः सक्रिय भएका छन् । जेनजी आन्दोलनका क्रममा सभापति देउवासहित दम्पति हमला हुँदादेखि आफू सभापति भएर पार्टीलाई हाक्ने भन्दै देउवाको खैरो खन्दै आएका थापाले पुनः सोही बाटोमा अघि बढेको देखिन्छ । पार्टीभित्र विवाद निकाल्ने पनि थापा नै भएको कांग्रेस संस्थापन पक्षका नेता तथा कार्यकताहरुले बताउँदै आएका छन् ।




