काठमाडौं । नेकपा एमालेका नेता तथा केन्द्रीय सचिव महेश बस्नेतले जेनजी आन्दोलनपछि आगलागीका घटनामा क्षतिग्रस्त राजनीतिक दलको कार्यालयमा सरकारले गरेको अनुगमनको कदमलाई सकारात्मक रुपमा मूल्याङ्कन गरेका छन्। बस्नेतले भने, “आगो लागेको तीन महिना पछि भए पनि मन्त्रीहरुले अनुगमन गर्नु स्वागतयोग्य छ। सरकार जिम्मेवार र संवेदनशील हुनुपर्छ।”
उनले सरकारको ढिलाइको बाबजुद यस्ता निर्णय लिनु सराहनीय भएको उल्लेख गर्दै अब पीडितलाई न्याय र उचित क्षतिपूर्ति दिलाउने तथा दोषीमाथि कडा कारबाही गर्ने प्रक्रिया छिटो अघि बढाउनुपर्नेमा जोड दिएका छन्। बस्नेतका अनुसार, राजनीतिक दलका कार्यालय र सम्पत्ति जलेको घटनाले देशको राजनीतिक स्थायित्व र जनताको विश्वासमा प्रभाव पारेको छ। यस्तो अवस्थामा सरकारको सक्रियता आवश्यक रहेको उनी बताउँछन्।
यसअघि, जेनजी आन्दोलनका क्रममा कांग्रेस, एमाले, तत्कालीन माओवादी केन्द्र लगायतका दलका कार्यालय र नेताहरूको निवासमा आगलागी र तोडफोड भएको थियो। घटनापछि सरकारले अनुगमन टोली गठन गरी कार्यालयको स्थलगत निरीक्षण सुरु गरेको छ।




