काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा समयमै निर्वाचन सम्पन्न गर्न सबै राजनीतिक दलसँग सहकार्य आवश्यक रहेको बताइन् । सिंहदरबारमा आज निर्वाचन आयोग, राजनीतिक दल, जेनजी प्रतिनिधि तथा सरोकारवालासँगको बैठकमा प्रधानमन्त्री कार्कीले लोकतन्त्र र शान्ति सुनिश्चित गर्न सबै दलले एकजुट भएर अगाडि बढ्न आह्वान गरिन् ।
प्रधानमन्त्री कार्कीले भनिन्, “निर्वाचनका सवालमा सुरक्षा व्यवस्थाबारे धेरैले चासो व्यक्त गरेकी छन् सरकारले सम्पूर्ण रूपमा सुरक्षाको वातावरण बनाउन लागिरहेको छ। सबै दलले एकजुट भएर अघि बढे कुनै पनि आतङ्ककारी वा अपराधीले देशमा हमला गर्न सक्दैन। त्यसैले मेरो आग्रह छ, सबै निर्वाचनमा सहभागी होऔँ।”
उनले निर्वाचनमा अझै सहभागी नभएका दललाई पनि लोकतन्त्र र शान्तिको हितमा निर्वाचन प्रक्रियामा आउन आग्रह गरिन् । प्रधानमन्त्री कार्कीले ११४ वटै राजनीतिक दल एकसाथ भए देशमा अशान्ति उत्पन्न हुने सम्भावना नगर्ने भन्दै नागरिक समाज, सञ्चारमाध्यम र कर्मचारीसँग पनि सहकार्यको अपिल गरिन् ।
प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ का घटनाबाट उत्पन्न आलोचना र जनभावनालाई सरकारले सामना गरिरहेको उल्लेख गर्दै भनिन् , “ती घटनाले जनतामा गहिरो प्रभाव पारेको छ। यसबाट हामीले सिक्नुपर्ने पाठ छ – परिवर्तन र जनसन्देश बुझेर मात्रै अघि बढ्नुपर्छ।”
उनले जेनजी र युवा पुस्ताले चाहेको परिवर्तनलाई मुलुकका लागि मुख्य प्राथमिकता मान्नुपर्ने औँल्याउँदै भनिन्, “जनताले परिवर्तन चाहेका छन्। हामी आलोचनाको पात्र भए पनि देशका लागि सहन र भोग्न तयार छौँ। शान्ति र स्थायित्व कायम गर्न सबैले व्यक्तिगत स्वार्थलाई पछि राख्नुपर्छ, यहीमा मुलुकको भलाइ निहित छ।”
प्रधानमन्त्री कार्कीको यो अभिव्यक्तिले आगामी निर्वाचनको सफलताका लागि राजनीतिक दल, नागरिक र सरोकारवालाबीच सहकार्य र संवादको महत्वलाई अझ स्पष्ट पारेको छ।




