देश

निर्वाचन अध्यादेशप्रति एमालेको आपत्ति: ‘गोला प्रथाबाट चिन्ह राख्ने प्रस्ताव अस्वीकार्य’

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारले अघि सारेको निर्वाचनसम्बन्धी अध्यादेशप्रति कडा असहमति जनाएका छन् । प्रतिनिधिसभा निर्वाचनका क्रममा मतपत्रमा दलहरूको चुनाव चिन्ह गोला प्रक्रियाबाट राख्ने प्रस्ताव लोकतान्त्रिक अभ्यासविपरीत भएको भन्दै उनले त्यसलाई स्वीकार गर्न नसकिने बताएका हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीको पहलमा आयोजित विदेशस्थित नेपाली र अन्तर जिल्ला मतदानसम्बन्धी छलफलमा एमालेको तर्फबाट सहभागी भएका बस्नेतले प्रमुख राजनीतिक दलहरूसँग अलग–अलग संवाद गर्न प्रधानमन्त्रीलाई सुझाव दिए । उनले सरोकारवालासँग पर्याप्त सहमति नबनाई ल्याइएको अध्यादेशले निर्वाचन प्रक्रियामै प्रश्न उठाउने चेतावनी दिए ।

बस्नेतका अनुसार अघिल्लो निर्वाचनमा समानुपातिक मतको आधारमा दलको चुनाव चिन्ह मतपत्रमा राख्ने प्रचलित व्यवस्था हटाउने हो भने त्यसले सरकार निर्वाचन गराउन इच्छुक नभएको सन्देश जानेछ । उनले स्थिर र विश्वासयोग्य निर्वाचनका लागि विगतको अभ्यासलाई निरन्तरता दिनु आवश्यक रहेको जोड दिए ।

एमालेले अध्यादेशका विभिन्न प्रावधानबारे पुनर्विचार गर्न सरकारसँग आग्रह गर्दै सहमतिको आधारमा मात्रै निर्वाचनसम्बन्धी कानुनी व्यवस्था अघि बढाउनुपर्ने स्पष्ट पारेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *