काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । ओली एमाले महासचिव शंकर पोखरेललाई साथमा लिएर देउवा निवास महाराजगञ्ज पुगेका हुन् ।
भेटघाटमा सभापति देउवाकी पत्नी आरजु राणा देउवा पनि सहभागी रहेकी थिइन् । समसामयिक राजनीतिक अवस्था र दलहरूबीचको सहकार्यका विषयमा अनौपचारिक छलफल भएको बुझिएको छ ।
एमालेको ११औँ महाधिवेशनबाट तेस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएपछि ओलीले सभापति देउवालाई पहिलो पटक भेटेका हुन् । यसअघि पनि मंसिर १९ गते दुई नेताबीच भेटवार्ता भएको थियो ।
पछिल्ला दिनहरूमा प्रमुख दलका शीर्ष नेताबीच भेटघाट तीव्र बन्दै गएको सन्दर्भमा यो भेटलाई राजनीतिक दृष्टिले महत्त्वपूर्ण मानिएको छ ।




