देश

सरकारविरुद्ध युवा मोर्चाबन्दी, जेन(जी) समूहको देशव्यापी संयुक्त आन्दोलनको घोषणा

काठमाडौं । सरकारप्रति बढ्दो असन्तोषलाई संगठित रूप दिने संकेत गर्दै मिराज ढुंगाना नेतृत्वको जेन(जी) समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन(जी) आन्दोलन’ सुरु गर्ने घोषणा गरेको छ। विभिन्न जेन९जी० धारका अगुवालाई एकै मोर्चामा उभ्याउँदै गरिएको यो घोषणा युवामाझ फैलिँदो आक्रोशको औपचारिक अभिव्यक्ति मानिएको छ।

आइतबार आयोजित कार्यक्रममा ढुंगानाले भदौ २३/२४ मा उठाइएका मागप्रति सरकार गम्भीर नदेखिएको आरोप लगाए। उनका अनुसार सुशीला कार्की नेतृत्वको सरकारले सय दिन बितिसक्दा पनि जनताले अनुभूति गर्ने कुनै ठोस काम गर्न सकेको छैन। “सरकारले जेन(जी) आन्दोलनको मर्म बुझ्न सकेन, न त समग्र युवाको प्रतिनिधित्व गर्न,” ढुंगानाको टिप्पणी थियो।

उनले वर्तमान राजनीतिक संरचनाले विश्वास गुमाइसकेको दाबी गर्दै सर्वपक्षीय सरकार गठनको माग अघि सारे। देशलाई निकास दिन सबै पक्षलाई समेट्न सक्ने राजनीतिक नेतृत्व आवश्यक भएको उनको भनाइ थियो। आन्दोलनको पहिलो दिन भोलि बिहान ११ बजे माइतीघर मण्डलामा भेला हुन उनले आह्वान गरेका छन्।

घोषणा कार्यक्रममा रविकिरण हमालसहित विभिन्न जेन९जी० अभियन्ताको उपस्थिति थियो। राप्रपा निकट जेन(जी) अगुवाहरूले समेत वर्तमान सरकार बर्खास्त गर्नुपर्ने, सर्वपक्षीय सरकार गठन गर्नुपर्ने र संविधान पुनर्लेखनमार्फत राजनीतिक तथा संवैधानिक संकटको समाधान खोज्नुपर्ने धारणा सार्वजनिक गरेका छन्।

संयुक्त आन्दोलनको घोषणालाई पछिल्लो समय बढ्दै गएको युवाको राजनीतिक असन्तुष्टि र प्रणालीप्रतिको अविश्वासको संकेतका रूपमा हेरिएको छ। अब यो आन्दोलन दबाब सिर्जना गर्ने सीमामा रहन्छ कि राजनीतिक शक्ति सन्तुलन नै हल्लाउने चरणमा पुग्छ भन्ने कुरा यसको सहभागिता र सरकारको प्रतिक्रियामा निर्भर रहने देखिन्छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *