राजनीति

सहकारी ठगी प्रकरणमा धरौटीमा रिहा भएपछि रवि लामिछानेको पुनः चर्को स्वर, अराजकता निम्त्याउने भिड जम्मा गर्न केन्द्रित !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौँ आइपुगेसँगै फेरि चर्को राजनीतिक अभिव्यक्ति र सडककेन्द्रित रणनीतिमा सक्रिय देखिएका छन्। यसअघि पनि रवि लामिछानेलाई अदालतले बाहिर बसेर मुद्धा लड्ने छुट दिएको थियो । तर तत्कालीन सरकारमाथि आरोप प्रत्यारोप र अदालतको मान हानी हुने गतिविधि र अनुसन्धानको विषयलाई प्रभावित पार्ने क्रियाकलापमा सक्रिय भएपछि अदालतलको आदेशमा कारागार गएका थिए । जेनजी आन्दोलनका शहीद परिवारसँगको भेट, कारागारबाट रिहाइपछिका अभिव्यक्ति र सार्वजनिक भीडलाई लक्षित सम्बोधनले उनको राजनीतिक लाइन शान्त संवादभन्दा दबाब र भिड परिचालनमै केन्द्रित हुँदै गएको प्रष्टै देखिन्छ ।

शनिबार काठमाडौँ आइपुगेलगत्तै लामिछाने बबरमहलस्थित जेनजी शहीद परिवार कल्याणकारी संस्थाको कार्यालय पुगे। त्यहाँ उनले जेनजी आन्दोलनका शहीद परिवारसँग छलफल गर्दै ‘न्यायका लागि लड्ने’ प्रतिबद्धता जनाए। सञ्चारकर्मीसँग कुरा गर्दै उनले जेनजी आन्दोलनका क्रममा युवाहरूको ‘छानिछानी हत्या’ भएको आरोप लगाए र सरकारले कारबाही गर्न उदासीनता देखाएको गुनासो गरे। तर राजनीतिक विश्लेषकहरूका अनुसार यो भेट केवल सहानुभूतिको विषय मात्र नभई भावनात्मक मुद्दा उठाएर सार्वजनिक असन्तोषलाई संगठित गर्ने प्रयासका रूपमा पनि हेरिएको छ। शहीद परिवारको पीडा वास्तविक भए पनि, त्यसलाई राजनीतिक शक्ति प्रदर्शनको माध्यम बनाउने प्रवृत्तिले समस्याको समाधानभन्दा टकराव बढाउने जोखिम देखिएको टिप्पणी हुन थालेको छ।

यसअघि भैरहवास्थित जिल्ला कारागारबाट बैंक जमानतमा रिहा भएपछि लामिछानेले “न्यायको संघर्ष अझै बाँकी छ” भन्दै आफ्नो मुद्दालाई व्यक्तिगतभन्दा माथि उठाएर ‘देशमाथि भएको अन्याय’ को रूपमा प्रस्तुत गरे। उनले उचित समय आएपछि सबै कुरा खोल्ने संकेत पनि दिए, जसले फेरि राजनीतिक तनाव र अपेक्षा बढाएको छ। रिहाइपछि चितवनमा आयोजित कार्यक्रममा कारको हुटमा उभिएर गरिएको सम्बोधनले उनको शैली थप आक्रामक बन्दै गएको देखियो। “मिल्नुपर्नेहरू अन्तिममा मिलेरै छोड्छौं” भन्ने अभिव्यक्तिसँगै उनले जेनजी पुस्तालाई अगाडि सारेर परिवर्तनको आह्वान गरे। तर आलोचकहरूका अनुसार यस्ता भाषणले संस्थागत राजनीति र विधिको शासनभन्दा भावनात्मक उभार र भिड जम्मा गर्ने रणनीतिलाई बल पुर्‍याउँछ।

सहकारी ठगी तथा संगठित अपराधजस्ता गम्भीर अभियोगमा धरौटीमा रिहा भएका लामिछानेको मुद्दा अझै न्यायिक बहसको केन्द्रमा छ। उच्च अदालतको आदेशपछि न्यायाधीशविरुद्ध उजुरी दर्ता भइसकेको अवस्थामा, सडकबाट दबाब सिर्जना गर्ने शैलीले न्यायिक प्रक्रियामाथि समेत प्रश्न उठ्न थालेका छन्। रवि लामिछानेको पछिल्लो गतिविधि र अभिव्यक्तिले उनी फेरि एकपटक ‘आक्रोश र भीड’ को राजनीतिमा फर्किएको संकेत गर्छ। प्रश्न यही हो—यो रणनीतिले वास्तविक न्याय र सुधार ल्याउँछ कि देशलाई थप ध्रुवीकरण र अराजकतामा धकेल्छ ?अहिलेको चर्को स्वरले समाधानभन्दा तनावलाई नै मलजल गरिरहेको देखिन्छ।

रवि लामिछानेमात्रै होइन्,रास्वपाका नेता तथा कार्यकर्ताहरु, वैकल्पिक शक्ति र अराजक भिडलाई लिएर अघि बढेका छन् । अहिले देशमा पुनः भिड जम्मा गर्ने र पुराना दलहरुमाथि हमला गर्ने आन्तरिक रणनीति भएको स्रोतको दाबी छ । गत भदौ २३ र २४ गतेको आन्दोलनअघि पनि यस्तै गतिविधिहरु भएका थिए । सोही योजनाहरु अनुसार जेनजी आन्दोलन भएको थियो ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की राजनीतिमा आउनुअघि उनी एक सफल अभिनेता, हास्य कलाकार र निर्माता थिए, जसले सर्वेंट अफ द पिपल नामक लोकप्रिय टेलिभिजन सिरिजमा काम गरेका थिए, जहाँ उनले राष्ट्रपति कै भूमिका निभाएका थिए। उनकै कारण रुस–युक्रेन ठूलो युद्ध भयो । अहिले युक्रेन टुक्रा–टुक्रामा विभाजित छ । लामिछाने पनि सोही गतिविधिबाट अघि बढ्न खोजेको देखिन्छ । उनले पनि टेलिभिजनमा कार्यक्रम चलाएर गिनिज बुकमा रेर्कड राखेकाले नै लामिछानेका नेता तथा कार्यकर्ताहरुको भिड लाग्ने गरेको छ । भिडलाई लामिछानेले शान्तिका लागि अपिल गर्नुको सट्टा झन अराज गतिविधि गर्न उक्साइरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *