राजनीति

सभापति देउवाले महाधिवेशन तयारीबारे छलफलका लागि बोलाए बैठक

काठमाडौं । नेपाली कांग्रेसभित्र आगामी महाधिवेशनको तयारीलाई लिएर आन्तरिक छलफल सुरु भएको छ। पार्टी सभापति शेरबहादुर देउवाले उपसभापति र महामन्त्रीसहित चार शीर्ष नेतासँग बैठक बोलाएका छन्।

शनिबार बिहान ९ बजे बस्ने बैठकमा उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा सहभागी हुनेछन्। महाधिवेशनको कार्यतालिका, विधान मस्यौदा समिति गठनलगायत महत्त्वपूर्ण एजेन्डामाथि छलफल गर्न बैठक आह्वान गरिएको बताइएको छ।

कांग्रेसले यही पुस २६ देखि २८ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णयसहित कार्यतालिका सार्वजनिक गरिसकेको छ। तर, पुस १६ गते वडा अधिवेशन सम्पन्न गरेर २६ गते महाधिवेशनमा जाने योजना व्यवहारिक नदेखिएको भन्दै पार्टीभित्रै चिन्ता व्यक्त हुँदै आएको छ।

निर्वाचन समिति र क्रियाशील सदस्यता छानबिन समिति गठन भइसके पनि विधान मस्यौदा समिति अझै गठन हुन नसक्दा महाधिवेशनको तयारीमा अन्योल देखिएको छ। यही पृष्ठभूमिमा देउवाले शीर्ष नेताहरूसँग छलफल गर्न लागेको बुझिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *