काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको पार्टी एकतालाई राजनीतिक तमासाको संज्ञा दिएका छन्। उनले दुवै नेताले आफ्ना–आफ्ना समस्याबाट उम्कन एकताको बाटो रोजेको दाबी गरेका छन्। बिहीबार शपथग्रहणपछि आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले उक्त एकता कुनै सिद्धान्त वा उद्देश्यबाट होइन, बाध्यताबाट बनेको टिप्पणी गरे। उनका अनुसार पार्टी र नाम नै बोझ बनेपछि प्रचण्ड र माधव नेपाल एक ठाउँमा पुगेका हुन्।
ओलीले प्रचण्डलाई ‘माओवादी’ नाम नै असहज बनेको र त्यसबाट मुक्त हुन एकता गरेको बताए। त्यस्तै, माधव नेपाललाई आफ्नो पार्टी नै घाँडो भएपछि फुटाउने उद्देश्यले प्रचण्डसँग हातेमालो गरेको उनको आरोप छ। “नाम हटाउन एकता गर्ने, पार्टी फुटाउन एकता गर्ने—यो राजनीतिक नाटक नेकपा एमालेले गर्दैन,” ओलीले भने, “हामी आधारभूत रूपमा लोकतन्त्र र राष्ट्रको हितका लागि मात्र एकतामा विश्वास गर्छौं।”
पूर्व नेकपा एकताको प्रसंग उठाउँदै ओलीले त्यो प्रक्रिया स्वाभाविक नभई परिस्थितिजन्य बाध्यताको उपज भएको जिकिर गरे। उनले उक्त एकतालाई दीर्घकालीन राजनीतिक समाधान होइन, क्षणिक स्वार्थले जन्माएको प्रयोगका रूपमा चित्रित गरे। गत भदौ २३ र २४ गते देशव्यापी भएको विध्वँशकारी आन्दोलनपछि तर्सिएका प्रचण्डले आफूमाथि लागेका आरोप मेटाउन माओवादी पार्टी नै खारेज गरे । माओवादी पार्टी खारेजपछि प्रचण्डको चौतर्फी आलोचना भएको छ । माओवादी शसस्त्र जनआन्दोलनमा क्रममा द्वन्द्व पीडित, आपाङ्ग र वेपत्ता पारिएका नागरिकहरुले अहिले प्रचण्डलाई पार्टी परिवर्तन गरेर धर नपाउने भन्दै सामाजिक संजालहरुमाफर्त चर्को आलोचना गर्न थालेका हुन् । तर प्रचण्ड सो विषयमा मौन छन् ।




