राजनीति

अनुशासन बिना पार्टी चल्दैन, एमालेमा बस्न अनुशासन अनिवार्य : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र बस्न अनुशासन सबैभन्दा महत्वपूर्ण रहेको बताएका छन्।

११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मतपरिणामलाई स्वीकार गर्दै पार्टी एकताबद्ध भएर अघि बढेको स्पष्ट पारे।

उनले पार्टीको छविमा आँच आउने कुनै पनि गतिविधि नगर्न आग्रह गर्दै अनुशासन लोकतान्त्रिक अभ्यासको आधार भएको बताए। ‘हामी सुदृढ अनुशासनमा बस्छौँ। अनुशासन मानव र सामाजिक प्राणीका रूपमा अनिवार्य विषय हो। अनुशासनमा नबाँधिए समाज नै रहँदैन,’ ओलीले भने।

उनले एमाले कुनै ‘नक्कली आवरणको पार्टी’ नभएको उल्लेख गर्दै दृढ विश्वास र लोकतान्त्रिक मूल्यमा आधारित पार्टी भएको बताए। ‘राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउनेजस्तो प्रवृत्ति हाम्रो पार्टीको होइन,’ उनले थपे।

बैठककै क्रममा एक नेताको मोबाइल फोन बजेपछि अध्यक्ष ओलीले आपत्ति जनाउँदै बैठकमा मोबाइल बज्नु नहुने भन्दै अनुशासनको उदाहरण प्रस्तुत गरे। ‘म अहिले पनि अनुशासनकै कुरा गरिरहेको छु,’ उनले भने।

अध्यक्ष ओलीले पार्टीलाई एकताको भावनाका साथ नयाँ उचाइमा पुर्‍याउने दृढता समेत व्यक्त गरे । उनले पार्टीमा केही समस्या देखिएको उल्लेख गर्दै आगामी दिनमा त्यस्ता खालको कुनैपनि कमजोरी हुन नदिने दाबी समेत गरे ।

उनले नवनिर्वाचित केन्द्रीय समितिमा नेताहरूलाई एक स्वर भएर पार्टीको विधान महाधिवेशनले तय गरेका वैचारिक, सङ्गठनात्मक र कार्यक्रम नीति अनुसार अघि बढ्न पनि सचेत गराए । आर्मीले मार्च गरेजस्तो पार्टीका हरेक सदस्यहरूले एकस्वर, एकतालका साथ अघि बढ्नुपर्ने अध्यक्ष ओलीको भनाई थियो ।

उनले भने ‘हामी एकताको भावनाका साथ नयाँ उचाइका साथ अगाडि बढ्नेछौँ । केही केही समस्याहरू समय समयमा पार्टीभित्र थोरै देखापर्ने पनि गरेका छन् । आगामी दिनमा हामी त्यस्ता खालका कमजोरीहरू कुनैपनि प्रकट नहुन भन्ने कामना गर्दछौँ । हाम्रो एक आवाज हुनुपर्दछ । दोस्रो विधान महाधिवेशनले पारित गरेका वैचारिक, सङ्गठनात्मक, कार्यक्रम नीतिअनुसार हामी अगाडि बढ्नेछौँ । र ती नीतिहरूमा एक स्वर भएर परेडमा आर्मीले मार्च गरेजस्तो हाम्रा हातहरू पनि बराबर हल्लिने, खुट्टाहरू पनि बराबर चल्ने गरी ताल मिलाएर हामी अघि बढ्नेछौँ ।’

अध्यक्ष ओलीले टोलटोलमा सुरक्षा समिति बनाएर आम जनताको सुरक्षाको काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

नेकपा एमालेले पार्टीको आगामी केन्द्रीय कमिटीको बैठक पुस २६, २७ र २८ गते बस्ने निर्णय गरेको छ ।आगामी दोस्रो बैठकमा केन्द्रीय कमिटीको मनोनयन, पोलिट्ब्युरो र स्थायी कमिटी गठनलगायतका विषयमा निर्णय गर्ने तय भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *