राजनीति

जेनजी आन्दोलनभित्र मतभेद गहिरिँदै, सुदन गुरुङका अभिव्यक्तिले चुनावी प्रक्रियामै प्रश्न

काठमाडौं। जेनजी आन्दोलनपछि देखिएका केही गतिविधि र अभिव्यक्तिले आन्दोलनको मूल उद्देश्यभन्दा फरक दिशातर्फ बहस मोडिन थालेको संकेत गरेको छ। प्रधानमन्त्रीले भावनात्मक रूपमा ‘जेठो छोरा’को संज्ञा दिएका सुदन गुरुङका पछिल्ला कदम र अभिव्यक्तिप्रति सरकार मौन देखिनुले निर्वाचनको वातावरण प्रभावित हुने हो कि भन्ने चिन्ता बढेको छ। सरकारका पदाधिकारीको सचिवालयमा कार्यरत जेनजी अभियन्ताहरूका अनुसार आन्दोलनपछि देखिएको असंगत व्यवहारले केवल जेनजी आन्दोलनलाई मात्र नभई समग्र राजनीतिक स्थायित्वमै असर पार्न सक्छ। साझा एजेन्डा र स्पष्ट दिशाविनाका अभिव्यक्तिले मतदातामा भ्रम सिर्जना गर्ने र आन्दोलनले आर्जन गरेको जनसमर्थन खुम्चिने जोखिम रहेको उनीहरूको भनाइ छ।सरकारमा सहभागी एक मन्त्रीको सचिवालयमा रहेका जेनजी अगुवाले भने, “एउटा सामूहिक आवाज बन्नुपर्ने पात्र स्वयं विवादको केन्द्रमा पर्दा आन्दोलनलाई नै क्षति पुग्छ।”

संविधानविद्को चेतावनी

सुदन गुरुङले अघि सारेको संसद् पुनर्स्थापना र संविधान संशोधनसम्बन्धी प्रस्तावलाई संविधानविद्हरूले अव्यवहारिक बताएका छन्। संविधानविद् डा। चन्द्रकान्त ज्ञवालीका अनुसार निर्वाचनको जिम्मेवारी पाएको सरकारलाई संविधानको मूल संरचना परिवर्तन गर्ने अधिकार हुँदैन। “सरकारले अध्यादेशमार्फत केही प्रशासनिक व्यवस्थापन गर्न सक्छ, तर शासन प्रणाली नै फेर्ने अधिकार छैन,” उनले भने, “युवाको आवाज महत्त्वपूर्ण छ, तर त्यसलाई संस्थागत र संवैधानिक बाटोबाट अघि बढाउनुपर्छ।”

जेनजीभित्रैबाट आलोचना

जेनजी आन्दोलनकी अगुवा तनुजा पाण्डेले सुदन गुरुङलाई व्यक्तिगत एजेन्डा अघि बढाउन जेनजीको नाम प्रयोग नगर्न चेतावनी दिएकी छन्। सामाजिक सञ्जालमार्फत उनले गुरुङका विरोधाभासपूर्ण अभिव्यक्तिले आन्दोलन र देश दुवैलाई क्षति पुर्‍याइरहेको उल्लेख गरेकी छन्।
“कहिले निर्वाचन बहिष्कारको कुरा, कहिले बहुदलीय लोकतन्त्रको समर्थन—यस्तो अस्थिरता नाटकजस्तै देखिन्छ,” पाण्डेको टिप्पणी छ। उनले गुरुङलाई केही समय विश्राम लिएर आफ्नो दक्षताको क्षेत्रमा केन्द्रित हुन सुझावसमेत दिएकी छन्।

चुनाव नै निकास

जेनजी फ्रन्टकी संयोजक रक्षा बम, अभियन्ता युजन राजभण्डारी र यतिष ओझालगायत नेताहरूले निर्वाचनको विकल्प नरहेको स्पष्ट पारेका छन्। उनीहरूको भनाइमा आन्दोलनको मुख्य उपलब्धि भनेकै समयमै चुनाव गराएर जनताको प्रतिनिधिमार्फत सुधारको बाटो खोल्नु हो।

विवादास्पद कार्यशैलीमाथि प्रश्न

पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीलाई पक्राउ नगरे देशव्यापी आन्दोलन गर्ने चेतावनीदेखि लिएर राजनीतिक नेताहरूको घरमा विनासूचना प्रवेश गराउने घटनासम्म आइपुग्दा गुरुङको कार्यशैलीमाथि गम्भीर प्रश्न उठेका छन्। जानकारहरूका अनुसार यस्ता गतिविधिले चुनावी वातावरण बिगार्ने खतरा बढाएको छ।

आन्दोलनको मूल भावना ओझेलमा

भदौ २३ र २४ गते भ्रष्टाचारविरुद्ध स्वतःस्फूर्त रूपमा उठेको जेनजी आन्दोलनले विकेन्द्रीकृत नेतृत्व र सामूहिक आवाजको उदाहरण प्रस्तुत गरेको थियो। तर आन्दोलन सफल भएसँगै एकल व्यक्तिको अभिव्यक्तिले बढी स्थान पाउँदा त्यसको मूल भावना ओझेलमा परेको विश्लेषकहरूको निष्कर्ष छ।

जेनजी आन्दोलनभित्रैका अभियन्ताहरूले अब सरकार र आन्दोलन दुवैको प्राथमिकता समयमै निष्पक्ष निर्वाचन हुनुपर्नेमा जोड दिएका छन्। उनीहरूको स्पष्ट सन्देश छ—जनमतबाट आएको संसद्ले मात्र संविधान संशोधनजस्ता गम्भीर विषयमा निर्णय गर्न सक्छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *