काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू र पार्टी नेतृत्वलाई लक्षित गरी जाली मुद्दा लगाउने प्रयास भइरहेको आरोप लगाउँदै त्यसविरुद्ध कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन्। पार्टीको ११औँ महाधिवेशनबाट तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएपछि पहिलो सम्बोधनमा ओलीले यस्तो चेतावनी दिएका हुन्।
उनले एमाले नेतृत्वमाथि हस्तक्षेप भए देशव्यापी प्रतिरोध हुने स्पष्ट संकेत गर्दै पार्टी पंक्तिलाई तयारी अवस्थामा रहन निर्देशन दिए। ‘पञ्चायतकालकै शैलीमा जाली मुद्दा थोपर्ने प्रयास भइरहेको छ,’ ओलीले भने, ‘एमालेमाथि छोए देश ठप्प हुन्छ, सरकार ढल्छ र त्यसको मूल्य निकै महँगो पर्छ।’
ओलीले सम्भावित दमन र अराजकता रोक्न पार्टी संगठनलाई जरोसम्म बलियो बनाउनुपर्नेमा जोड दिए। उनले एक साताभित्र देशभर टोल–टोलमा सुरक्षा समिति गठन गर्न नेता–कार्यकर्तालाई निर्देशन दिँदै राज्य संयन्त्रमाथि मात्रै भर नपर्न आग्रह गरे। ‘आफ्नो सुरक्षा आफैँ गर्नुपर्छ, संगठन आफ्नै खुट्टामा उभिनुपर्छ,’ उनले भने। प्रधानमन्त्रीलाई लक्षित गर्दै ओलीले निर्वाचन गराउन नसके मार्ग प्रशस्त गर्न सुझाव दिए। ‘सके चुनावको तयारी गर, नसके बाटो लाग,’ भन्दै उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाए।
यसैबीच, ओलीले आफूबिनाको एमाले बनाउने प्रयास पूर्ण रूपमा असफल भएको दाबी गरे। महाधिवेशन प्रतिनिधिले पुनः अध्यक्षमा निर्वाचित गरेर षड्यन्त्रको जवाफ दिएको उनको भनाइ थियो। ‘केपी ओली बिनाको एमाले भन्ने प्रतिक्रियावादी सोच ध्वस्त भएको छ,’ भन्दै उनले प्रतिनिधिहरूप्रति आभार व्यक्त गरे। सरकार र जेनजीबीच भएको सम्झौताप्रति पनि ओली आक्रामक देखिए। उनले उक्त सम्झौता अवैधानिक र नाटक मात्र भएको टिप्पणी गर्दै एमालेले कार्यान्वयन हुन नदिने स्पष्ट पारे। ‘संविधान चलाउने अधिकार यो सरकारसँग छैन,’ ओलीको भनाइ थियो।ओलीले सम्भावित दमन र अराजकता रोक्न पार्टी संगठनलाई जरोसम्म बलियो बनाउनुपर्नेमा जोड दिए।
पूर्व नेकपा एकताको सन्दर्भमा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालमाथि कटाक्ष गरे। उनले तत्कालीन एकतालाई बाध्यताबाट जन्मिएको ‘राजनीतिक नाटक’को संज्ञा दिँदै नाम र पार्टी दुवै नेताका लागि बोझ बनेको टिप्पणी गरे।




