देश

एमाले ११औँ महाधिवेशनः नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

मत परिणाम घोषणा भए लगत्तै नवनिर्वाचित नेताहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शपथ लिएका हुन्। महाधिवेशनबाट अध्यक्षमा पुनः केपी शर्मा ओली निर्वाचित भएका छन्। उनले प्रतिस्पर्धी ईश्वर पोखरेललाई पराजित गर्दै तेस्रो कार्यकालका लागि नेतृत्व सम्हालेका हुन्।

उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङले सर्वाधिक मत प्राप्त गरे भने अन्य उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा, गोकर्णराज विष्ट र रघुजी पन्त रहेका छन्। महासचिवमा शंकर पोखरेल विजयी भए भने उपमहासचिवमा रघुवीर महासेठ, लेखराज भट्ट र योगेश भट्टराई निर्वाचित भएका छन्।

सचिव पदमा खगराज अधिकारी, पद्मा अर्याल, हिक्मत कार्की, महेश बस्नेत, छविलाल विश्वकर्मा, यामलाल कँडेल, शेरधन राई, भानुभक्त जोशी र राजन भट्टराई विजयी भएका छन्।

विजेता सबै पदाधिकारीहरूले शपथ ग्रहण कार्यक्रममा पार्टी विधान र नीतिप्रति निष्ठा राख्ने तथा जनताको सेवामा समर्पित हुने प्रतिबद्धता व्यक्त गरेका छन्। १९ सदस्यीय टोलीमा अधिकांश पुराना अनुहारहरू निरन्तरता पाएका छन् भने केही नयाँ अनुहारहरू पनि समावेश भएका छन्।

महाधिवेशनले पार्टीको सङ्गठनात्मक संरचनालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। यसले एमालेको आन्तरिक एकतालाई सुदृढ गर्दै आगामी दिनमा सरकार र विपक्षी भूमिकामा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *